बुधबार, जेठ १, २०८२

राखेपका सदस्य सचिव घिसिङले कल्याणकारी कोषलाई २ लाख ९ हजार रुपैयाँ हस्तान्तरण गरे

नेपालखोज २०७९ वैशाख १२ गते २१:४५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैया हस्तान्तरण गरे । अदालतको फैसालापछि काममा फर्किएका उनले मुद्धा अदालतमा विचारधिनको अवधि ३ महिना १६ दिनको सेवा सुविधाको पैैसा राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई प्रदान गरे ।

पूर्वसदस्य सचिव रमेशकुमार सिलवालले सदस्य सचिवको पुनबहालीका लागि अदालतमा मुद्धा दायर गरेपछि घिसिङको नियुक्तीलाई अदालतले तत्काल रोक्न भनेको थियो । पछि अदालतले रमेशकुमार सिलवालको मुद्धा खारेज गरेपछि घिसिङ पुनः काममा फर्किएका हुन् । सोही बीचको अवधिको सेवा सुविधा बापतको पारिश्रमिक खेलाडीहरुकै लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खेलाडी कल्याणकारी कोषलाई प्रदान गरिएको सदस्य सचिव घिसिङले बताए ।

मन्त्रीपरिषद् निर्णयबाट गत मंसिरमा सदस्य सचिवमा नियुक्त हुनु भएका घिसिङको प्रस्तावमा नवौ राष्ट्रिय खेलकुदको मिति तय भएको छ । जेठ २२ गतेबाट गण्डकी प्रदेशमा २८ गते सम्म सञ्चालन हुँदैछ । यस्तै नवनियुक्त सदस्य सचिवको प्रस्ताव र अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको समन्वयनमा राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक पनि सम्पन्न भएको छ । बोर्ड बैठकले नवौ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्या तोकेको छ भने चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि २३ खेलले सहभागिता जनाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया