टाइफाइडविरुद्धको खोप अभियान अन्तिम चरणमा

नेपालखोज २०७९ वैशाख १३ गते १४:२९

नेपाल सरकारले गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत सुरु गरेको टाइफाइडविरुद्धको खोप अभियान अन्तिम सातामा पुगेको छ ।

२५ चैत्र २०७८ मा सुरु भएको यो अभियान यही १८ वैशाख २०७९ सम्म चल्नेछ । य‍ो राष्ट्रिय टाइफाइड खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई टाइफाइडबाट सुरक्षित गर्ने उद्देश्य लिइएको छ । साथसाथै यो अभियानले वृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ। देशभरका ग्रामिण तथा सहरी क्षेत्रहरूका ५०,००० भन्दा बढी विद्यालयमा खोप केन्द्र स्थापना गरेर यो खोप लगाइदै आएको छ ।

टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको य‍ो देशब्यापी अभियानमा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गरिरहेका छन् ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो । यस अघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन् ।

युनिशेफका अनुसार टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी प्रशिक्षणमा पनि ध्यान दिन जरुरी छ।

ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका थिए । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलनसमेत गरिएको छ ।

प्रतिक्रिया