मस्कले ४४ अर्ब डलरमा ट्विटर किने, अमेरिकी दक्षिणपन्थी खुसी

काठमाडौं । ट्विटरको सञ्चालक समिति (बोर्ड) ले ४४ अर्ब डलरमा ट्विटर बेच्ने भएको छ । उक्त कम्पनी अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको हो । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटर किन्न बताएका थिए ।
उनले त्यसबेला ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए ।
कम्पनीले सुरुमा मस्कको प्रस्तावलाई अस्वीकार गरेको थियो । तर अब उसले सेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ । सञ्चारमाध्यमका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ ।
उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् । यस्तै अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन् । उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो । ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ । ’
‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ मस्कले भनेका छन् । ‘ट्विटरमा व्यापक सम्भावना छ, त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु ।’
ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो । ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन् ।
गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले ‘हिंसाका लागि उत्तेजना फैलाएको’ भन्दै प्रतिबन्ध लगाएको थियो । सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो । मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ ।
भर्खरै ट्रम्पले पुनः आफू ट्विटरमा फर्कने मनशाय नरहेको बताएका थिए । ह्वाइट हाउसले उक्त किनबेचबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ । यद्यपि प्रवक्ता जेन साकीले संवाददाताहरूलाई लामो समयदेखि राष्ट्रपति ठूला सामाजिक सञ्चाल कम्पनीहरूको शक्तिबारे चिन्तिन रहेको तर ट्विटर कसको स्वामित्वमा रहन्छ भन्ने कुरा गौण भएको बताइन् ।
प्रतिक्रिया