गठबन्धनले खोस्यो महिलाको अधिकार- झापाका १५ पालिकामध्ये १२ मा पुरुष नै उपप्रमुख

काठमाडाैं । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
नेपाली कांग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।
गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शंकर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी झापा गाउँपालिकामा मुनावती गणेशले उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिनाले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ । हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुख/उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तारामणि सापकोटाले पुरुष नभई जितिँदैन भन्ने सामाजिक सोचका कारण पनि महिलाले अवसर नपाएको बताउनुभयो । उनले भने, ‘पार्टीमा क्षमता भएका धेरै महिला छन् तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानुपर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो ।’

प्रतिक्रिया