आइतबार, वैशाख २८, २०८२

युक्रेन युद्ध : रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्ने

नेपालखोज २०७९ वैशाख १४ गते ७:२८

काठमाडाैं । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ । पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको छ ।

बल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ । रुसले ‘मित्रवत् व्यवहार नगर्ने’ देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो ।

दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् । पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ ।

उसले यस वर्षको पहिलो त्रैमासिकमा उक्त रुसी कम्पनीबाट आयातको ५३ प्रतिशत ग्यास किनेको छ । पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ ।

बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ । उसले वैकल्पिक स्रोतहरू खोज्न कदम चालेको तर ग्यास खपतमा तत्काल कुनै खाले प्रतिबन्ध आवश्यक नभएको बताएको छ ।

उक्त देशको ऊर्जा मन्त्रालयले बल्गेरियाले ग्याजप्रोमसँग हालको सम्झौता अन्तर्गत आफ्नो दायित्वहरू पूरा गरेको र सबै आवश्यक भुक्तानीहरू गरेको जनाएको छ ।

उसले रुसले प्रस्ताव गरेको नयाँ भुक्तानी प्रणालीले विद्यमान सम्झौता उल्लङ्घन गर्ने उल्लेख गरेको छ । बीबीसी

प्रतिक्रिया