७ बुँदे निर्देशन- विपरीत गठबन्धनसँग मिलेर दर्ता भएको उम्मेद्वारी सम्बन्धित दलले फिर्ता गर्नू

काठमाडाैं । सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग कांग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए । गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’
सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बुधबार बसेको बैठकले पार्टी मातहतका कमिटीलाई विभिन्न सात बुँदे निर्देशन दिएका छन्। उनीहरूले स्थानीय निर्वाचनका लागि परेका बागी उम्मेदवारी फिर्ता लिन भनेका छन्। निर्देशनको पहिलो बुँदामा भनिएको ‘६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने ।’
त्यस्तै, गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने भनिएको छ । ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै (बुधबार) राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूकाबीच सिट बाँडफाँटको सम्झदारी गर्ने निर्देशन पनि छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडैलले हस्ताक्षर गरेको सो विज्ञप्तिमार्फत नगरपालिका र गाँउपालिकाहरूमा गठबन्धनका दलहरूका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्न कडा निर्देशन दिइएको हो ।
पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो । बैठकले २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाँउपालिकाहरुमा ५ दलीय गठबन्धनभित्र तपशिल बमोजिमको कार्य गर्न गराउन आ-आफ्ना दलका निकायहरुलाइ निर्देशन गर्ने निर्णय गरेको छ ।
१. ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने ।
२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक कार्य गर्ने।
३. ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने ।
४. नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने ।
५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने ।
६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने।
७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।


प्रतिक्रिया