शनिबार, जेठ ५, २०८१

आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ वैशाख १४ गते २१:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरेको छ ।

कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बिमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृती दिएको छ ।

सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बिमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बिमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरकोरुपमा लिई बिमासम्बन्धी जानकारी, जनचेतना र बिमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्‍याउन कटिवद्ध रहेको बताए ।

उनले आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।

कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरु, कम्पनीप्रति विश्वास र भरोसा गर्ने समस्त बिमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बिमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बिमा कम्पनीहरु, पुनर्बिमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरु सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक सेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया