बुधबार, जेठ १, २०८२

बन्द प्रशिक्षणबाट ९ खेलाडी गायब, कसरी जन्मियो प्रशिक्षक र खेलाडीबीच विवाद ?

नेपालखोज २०७९ वैशाख १५ गते १३:०५

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला कुवेतमा हुने एएफसी एसियन कप छनोटको तयारीमा रहेको छ। एसियन कपका लागि राम्रोसँग तयारी गर्नुपर्नेमा नेपाली टिम भने यतिबेला खेलाडीले क्याम्प छाडेर गएपछि तनाव बढेको छ।

नेपाली खेलकुदमा यसअघि क्रिकेटमा यस्तै घटना भएको थियो भने यस पटक फुटबलमा पनि यस्तै नियति दोहारिएपछि अहिले सबैको ध्यान केन्द्रीत भएको छ । असार ६ गते अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारणसभा हुँदै छ। खेलाडीहरुले क्याम्प छाडेर जानुलाई एन्फाबारे जानकारहरुले चुनावसँग पनि जोडेर हेरेका छन्। वास्तवमा अहिलेको विवादको विषय खेलाडीहरुले बन्द प्रशिक्षणका बेला राख्ने होटेलको व्यवस्थामा प्रश्न उठाएका थिए।

यो प्रश्न एन्फासँग जोडिएको विषय भए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अगाडि आएपछि उनीसँग विवाद हुँदा रोहित चन्द क्याम्पबाट निकालिए भने अरु ९ जना खेलाडीहरुले होटेल छाडेर बाहिर निस्किए । त्यसपछि सार्वजनिक भएको विवाद समाधानका लागि एन्फाले पहल गरेको जनाए पनि नतिजा भने निस्किएको छैन।

उता, मुख्य प्रशिक्षक अल्मुताइरीले अब क्याम्प छाडेर गएका खेलाडीहरुलाई पुनः क्याम्पमा नफर्काउने बताएका छन् । उनले नयाँ खेलाडीलाई समावेश गरेर नेपालले एसियन कप छनोट खेल्ने बताएको बुझिएको छ।

बन्द प्रशिक्षणबाट रोहितसँगै, बिशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन बिष्ट, सुमन लामा, तेज तामाङ, बिशाल राई, बिमल घर्तिमगर बाहिरिएका थिए ।

मुख्य प्रशिक्षक र नौं खेलाडीबीचको विवादमा नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले खेलाडीको साथ दिने बताएका छन । कप्तान किरणले सामाजिक सन्जालमार्फत खेलाडीले खेलाडीको हितमा बोल्दा प्रशिक्षकको ब्यवहार राम्रो नभएको र यसमा खेलाडीको साथमा रहेको उल्लेख गरे ।

उनले फेसबुकमा लेख्दै क्याम्पमा जायज बिषय उठाँउदा खेलाडीलाई नै क्याम्प छोड्न लगाउनु पक्कैपनि सहि नभएको र टिमको कप्तान र एक सदस्यका हिसाबले सधै खेलाडीको पक्षमा रहेको उनले बताए । हाल माल्दिभ्समा रहेका किरण केहि दिनमा प्रशिक्षणमा जुट्ने तयारीमा थिए । तर अचानक मुख्य खेलाडीले क्याम्प छोड्दा फुटबल टिममा ठूलो खैलाबैला भएको छ ।

कसरी भयो विवाद

कुवेतमा हुने आसन्न एसियन कप फुटबलको छनोटका लागि नेपाली फुटबल टिम यतिबेला प्रशिक्षणमा रहेको छ । तर पछिल्लो पटक खेलाडी खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबिचको लफडाले समाचार माध्यममा एकाएक तहल्का मच्चियो । एसियन कप छनोटको प्रशिक्षण सुरु हुने बेला अब्दुल्लाहले यो पटक हामी छनोट हुन नसक्ने भन्दै समाचार माध्यमको हेडलाइन बनेका थिए । त्यसपछि उनले खेलाडीको बचाउमा बोल्दै नराम्रो नतिजा आएको खण्डमा सबै जिम्मेवारी आफ्नो हुने भन्दै खेलाडीको बचाउ गरेका थिए ।

एकातिर एन्फाको निर्वाचनको राजनिती भइरहेका बेला यतिबेला खेलाडीले क्याम्प छोडेको कुराले बबन्डर मच्छिएको छ । एन्फाले सुरुवातमा एशियन कप छनोटका लागि क्याम्प सुरु गर्दा खेलाडीको इच्छा अनुसार बस्ने ब्यवस्था गरेको थियो । अर्थात, एन्फाको होस्टेलमा बस्नेलाई त्यहाँ राख्ने र घर बस्न चाहने खेलाडीलाई घरमा बस्ने पाउने ब्यवस्था गरेको थियो ।

जसका कारण प्रशिक्षणमा खेलाडी सबै उपस्थित भएपछि प्रशिक्षण सकिँएपछि खेलाडी आफ्नो ठाँउमा जाने गरेका थिए । तर प्रशिक्षक अब्दुल्लाहले मंगलबार अर्थात अप्रिल २६ तारिखमा सबै खेलाडीलाई एकै स्थानमा बस्नका लागि निर्देशन दिएका थिए । त्यो कुरामा खेलाडीलाई होटेल राख्ने कुरा चलेको थियो । खेलाडीले आफ्नो सुविधाका लागि राम्रो ब्यवस्था होस भन्ने चाहना राखेका थिए । यो बिषयमा अब्दुल्लाहलाई अखिल नेपाल फुटबल संघले बजेट नभएकाले तारे होटेल राख्न नसक्ने कुरा गर्दा उनले त्यहि कुरा खेलाडीलाई भनेका थिए ।

बुझिएअनुसार बिचमा एन्फाले खेलाडीलाई भिभान्ता होटेलमा राख्ने कुरापनि भएको थियो । तर पछि त्रिपुरेश्वर स्थित बिजनेश होटेलमा राख्ने निधो भएको थियो । यो कुरामा टिमका सिनियर खेलाडी रोहित चन्दले असन्तुष्टि जनाएका थिए । कारण उनले खेलाडीलाई राम्रो खाने बस्ने ब्यवस्था नभएको भनेर गुनासो गरेका थिए । यो कुरामा अब्दुल्लाह रोहितसँग केहि आक्रोषित हुँदा एन्फासँग बजेट नभएको र तोकेको ठाँउमा नै बस्नुपर्ने धारणा राखेका थिए । तर सुरुवातमा सानो देखिएको बिषय पछि ठूलो हुन पुग्यो । यहि बिचमा अब्दुल्लाहले रोहितलाई चित्त नबुझे क्याम्पबाट बाहिर हुन समेत भनेका थिए ।

त्यसपछि रोहित क्याम्पमा सहभागि भएनन् । रोहित प्रशिक्षणमा सहभागि नहुने निधो गरेपछि अरु ९ खेलाडीले प्रशिक्षकसँग कुरा गरेरे रोहितले खेलाडीको बोली बोलेको र त्यसमा आफुहरु सहमत भएको कुरा गरेका थिए । त्यसपछि प्रशिक्षक अब्दुल्लाहले तिमीहरुपनि त्यहि चाहने हो भने गएहुन्छ भन्ने आशयको बोलि बोलेपछि अरु खेलाडीलेपनि क्याम्प छोडेका थिए । जसमा रोहितसँगै, बिशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन बिष्ट, सुमन लामा, तेज तामाङ, बिशाल राई, बिमल घर्तिमगर छन् ।

उनीहरुले बुधबारको प्रशिक्षणमा सहभागि मात्र भएनन् टिमसँग सम्पर्कविहिन छन । टिमका ब्यवस्थापकले बारम्बार फोन गर्दापनि उनीहरु सम्पर्कमा आउन चाहिरहेका छैनन् ।

यता यो कुरा एन्फाकालागि पनि ठूलो बिषय हुन देखिएको छ । एक त चुनावको मुखैमा रहेको बेला राष्ट्रिय टिम यो लफडाले नेतृत्वलाई झन दबाबमा ल्याएको छ । बुधबार फुटबल टिमले प्रशिक्षण गर्दा प्रशिक्षक अब्दुल्लाहले नौं जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन । यतिमात्र होइन, सोसियल मिडियाको समुहबाट पनि उनीहरु बाहिरीएका छन ।

अब यो घटनाले कुन मोड लिने हो, त्यो ठूलो बिषय बनेको छ । यता प्रशिक्षकले खेलाडीलाई केहि समयदेखि गरेको नियन्त्रणमा सिनियर खेलाडी केहि असन्तुष्ट रहेको समेत स्रोतले बताए । स्रोतका अनुसार प्रशिक्षकबाट रुष्ट भएका खेलाडीका लागि हामी एकजुट छौं भन्ने देखाउन खोजेको समेत बताए ।

नेपाली खेलकुदमा दुई चर्चित खेल क्रिकेटपछि अहिले आएर फुटबल टिम भित्र नै बिबाद देखिएको छ । क्रिकेटमा संघको निर्णयका कारण खेलाडी नै बिद्रोहमा उत्रिदा यतिबेला प्रशिक्षकको बिरोधमा नै खेलाडी उत्रिदा पक्कैपनि राम्रो संकेत भने होइन । तर यो घटनालाई अब कसरी एन्फाले नियन्त्रणमा ल्याउने हो, त्यो फुटबल समर्थकका लागि ठूलो बिषय बनेको छ ।

नेपालले जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन् । नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया