भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

नेपालखोज २०७९ वैशाख १५ गते १७:०९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासंग आज भेटवार्ता गरेको छ । पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्यलगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासंग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन् ।

मन्त्री शर्मासंगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताए । आवस्यक वस्तुहरुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरुलाई व्यवस्थित तवरले आयत गर्न दिनुपर्ने मल्लले बताए ।

व्यापार घाटा कम गर्नका लागि निर्यात प्रवद्र्धनमा सहुलियत दिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । अर्थमन्त्री शर्मासंग अध्यक्ष मल्लले भन्सारमा सन्दर्भ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्ने सुझाव समेत दिए ।

नेपालको भन्सार प्रक्रीयामा सहजिकरण नहुँदा निर्यात प्रवर्द्धन हुन नसकेको चेम्बर पदाधिकारीले गुनासो गरेका थिए । अध्यक्ष मल्लले भने, ‘मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको उच्चस्तरीय प्रयोगशाला राख्न सकियो भने गुणस्तरीय बस्तु मात्रै आयत हुने वातावरण बन्छ । यसबाट स्वभाविक रुपमा आयात कम गर्न सकिन्छ ।’

व्यापार घाटा बढ्नुको मुख्य कारण पेट्रोलिय पदार्थको उच्च आयात रहेको भन्दै अध्यक्ष मल्लले आगामी बजेटमा विद्युतीय सामाग्रीको उच्चतम प्रयोग हुनेगरी बजेट तर्जुमा गर्नुपर्ने बताए । सबै नागरिकलाई करको दायरामा ल्याउन नागरिकता दिँदैखेरि प्यानकार्ड पनि उपलव्ध गराउने व्यवस्था गर्न सकिने अध्यक्ष मल्लले बताए । घर जग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

मुलुकको अर्थतन्त्रलाई दोहोरो अंकमा वृद्धि गर्ने हो भने एकलदरको व्याजदर कायम गर्नेगरी नीतिगत व्यवस्था हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपाल चेम्बर अफ कमर्ससले एकल दरको व्याजदर कायम गर्न राष्ट्रबैंकलाई पनि आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया