७२ जिल्लाको मतपत्र छपाइ सकियो, ३ दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

नेपालखोज २०७९ वैशाख १५ गते १७:२०

काठमाडौं । निर्वाचन आयोगले ७२ जिल्लाको मतपत्र छापिसकेको छ । आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार ७२ जिल्लाक लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सकिएको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।​ निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

निर्वाचन आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको उनले बताए । उनले भने,एकजना मात्रैको मनोनयन भएपनि सिधै हामीले निर्विरोध भन्न सक्दैनौं ।‘कानुनको कसीमा उहाँ एकजना भए पनि कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने चाहिँ निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’

मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको उनले बताए । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी एवम् अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन परिसर तीन दिनसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखि पठाउने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।​

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । आयोगका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म उपलब्ध तथ्यांक अनुसार देशभरि १ लाख ५३ हजार २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पदका आधारमा उम्मेदवारी दर्ता गराउनेको संख्या यसप्रकार छ-

प्रमुख- ३५१० जना

अध्यक्ष- ३३८७ जना

उपप्रमुख- २१६८ जना

उपाध्यक्ष- २४०१ जना

वडा अध्यक्ष- ३५३५३ जना

महिला सदस्य- २६५३२ जना

दलित महिला सदस्य- २३९३२ जना

सदस्य- ५५७२० जना

प्रतिक्रिया