राष्ट्रसंघका महासचिव राजधानी किएभमा भएकै बेला दुई रुसी क्षेप्यास्त्र प्रहार

काठमाडाैं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन् । उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएका छन् ।
किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताए ।
घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए ।
राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन् ।
उनले किएभ र अन्य सहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरेका छन् । किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए ।
उनले भने, ‘म प्रस्ट भन्न चाहन्छु आफ्नो सामर्थ्यका हिसाबले (त्यो) यो युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रह्यो ।’ राष्ट्रसङ्घको सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मूल जिम्मेवारी भनेको विश्वव्यापी रूपमा शान्ति र सुरक्षा कायम गर्नु रहेको छ ।
तर गएको फेब्रुअरीमा रुसले अतिक्रमण सुरु गरे यता कदम चाल्न विफल भएको भन्दै युक्रेन सहितले उक्त निकायको आलोचना गरिरहेका छन् ।
रुस उक्त परिषद्को पाँच स्थायी सदस्य राष्ट्र मध्ये एक हो र उक्त द्वन्द्वलाई लिएर ल्याइएका एक भन्दा बढी प्रस्तावलाई उसले ‘भिटो’ मार्फत निष्क्रिय तुल्याइदिएको छ । गुटेरसले सुरक्षा परिषद्ले कदम चाल्न नसकेको भए पनि राष्ट्रसङ्घका अरू निकायहरूले काम गरिरहेको बताए । बीबीसी








प्रतिक्रिया