बिहीबार, वैशाख २०, २०८१

ठाडो निर्देशन- बागी उम्मेदवारी फिर्ता नगरे कारबाही, गठबन्धनबाहिरको तालमेल खारेज

नेपालखोज २०७९ वैशाख १६ गते १२:३१

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीनवटा निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बसेको हो । गठबन्धनले विभिन्न पदमा बागी उम्मेदवारी दिएकाहरूलाई तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ ।

आज आसन्न स्थानीय चुनावअन्तर्गत मनोनयन फिर्ता लिने अन्तिम दिन हो । कांग्रेस सभापति एवं प्रधनमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले यसअघि सहमति भएका ६ महानगर र ११ उपमहानगरका प्रमुख(उपप्रमुख पदमा भएको सहमति भएविपरितका दलबाट गरिएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ । ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हो ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय भएको छ। यस्तै पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय पनि भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ । आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो ।

प्रतिक्रिया