आइतबार, वैशाख २३, २०८१

भाग्न नसकेको मनुष्य !

सुजम्बर सम्भव २०७९ वैशाख १७ गते ९:३५

किभका डिलहरुमा, पाखाहरुमा
रगतका राता गुलाफ मुस्कुराईरहेछन्,
आकाशमा बारुदका बादलहरु
निरुद्धेश्य फुसफुसाई रहेछन्,
म अनिश्चित भविष्य घिसारीरहेछु ।

पानी नपाएर कलेटी परेका ओठहरु
भोजनबाट पर्देश भएका पेटहरु
ठेगान भुलेका तनहरु
भुकम्पमा परेका मनहरु
लिएर सबै कुरा थाहा पाएरै

एक थान घमासान युद्ध
थाहा पाएरै युद्धका परिणामहरु
तर थाहा नपाएर युद्धका कारणहरु
पुटिनको मिसायल गतिमा
भाग्न चाहान्छु, कृपया, भनिदेउ
कहाँ छ त्यो शान्ति क्षेत्रहरु ।

म अघि बढ्न खोजि रहेछु
म किभबाट भागिरहेछु
म दुनियाँदेखि भागिरहेछु
आफन्तको लास टेक्दै/टेक्दै,
युक्रेनीहरुको रगतमा चिप्लदै/चिप्लदै
साच्चै, म जीवनदेखि नै भागिरहेछु ।

कृपया, भनिदेउ जीवनदेखि टाढा कहाँ जान सकिन्छ ?

किभका डिलहरुमा रगतको गुलाफ फुलिरहेछ,
मनका डिलहरुमा रगतको गुलाफ फुलिरहेछ ।

प्रतिक्रिया