शुक्रबार, जेठ ४, २०८१

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले थाल्यो कारबाही

नेपालखोज २०७९ वैशाख १७ गते २१:२५

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।

आचारसंहिता उल्लंघनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए/गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/ नगराउन निर्देशन दिई सचेत गराएको छ ।

आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो ।

सो क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले काठमाडौंको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड (ड) विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो ।

सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लंघन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो ।

त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद शशांक कोइरालाले गत प्रतिनिधिसभा निर्वाचनमा आफूबाट भएको खर्चबारे निर्वाचनमा गरेको खर्चको विवरण र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिएको सम्बन्धमा पनि सचेत गराइएको छ ।

आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत
निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३ सय थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ ।

प्रतिक्रिया