आइतबार, पुष ६, २०८२

घेराबन्दीमा परेका सर्वसाधारणले मारिउपोलका स्टिल उद्योग छाडे

नेपालखोज २०७९ वैशाख १८ गते १०:३१

काठमाडाैं । रुस र युक्रेनले युद्धविरामको समयमा करिब २० जना सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिऊपोलस्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको जनाएका छन् ।

युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा गरेको बताएका छन् । अघिल्लो साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि त्यो परिसर छाड्ने उक्त समूह पहिलो हो ।

त्यहाँ फसिरहेका करिब एक हजार सर्वसाधारणहरूलाई मुक्त गर्ने विषयमा वार्ता चलिरहेका छन् । रुसले चाहिँ पूर्वतर्फको सैनिक कारबाहीलाई तीव्रता दिन खोजेको छ ।

एक साताअघि मारिऊपोल कब्जा भएको बताउँदै राष्ट्रपति पुटिनले आफ्ना फौजलाई भनेका थिए, ‘यो औद्योगिक क्षेत्रलाई यसरी बन्द गर कि त्यहाँबाट एउटा झिँगा पनि बाहिरिन नसकोस् ।’

तर रुसी सञ्चारमाध्यमहरूले शनिवार जनाए अनुसार एजोभस्टाल उद्योग क्षेत्रबाट २५ जना गैरसैनिकहरू बाहिरिन सफल भएका छन् ।

त्यसमा १४ वर्षभन्दा मुनिका छ जना बालबालिका छन् । उक्त विवरणमा तिनीहरूलाई कहाँ लगियो भनिएको छैन । स्टील कारखानामा रहेका सैनिकहरूले पनि त्यसलाई पुष्टि गरेका छन् तर उनीहरूले त्यो समूहमा महिला र बालबालिका गरी २० जना रहेको जनाएका छन् ।

एजोभ रेजिमेन्टका उपकमान्डर स्भिआटोस्लाभ पालामारका अनुसार उनीहरूलाई ‘युक्रेनी नियन्त्रणमा रहेको भूभाग जापोरिजामा उद्धार गरेर पुर्‍याइने अपेक्षाका साथ उपयुक्त स्थानमा पठाइएको’ बताए । उनले बिहान ६ बजेबाट नै मानिसहरूले उद्धार कुरिरहेका भएपनि त्यो सहयोग १२ घण्टापछि मात्रै आएको बताए । बीबीसी

प्रतिक्रिया