ब्रिफकेसभरि पैसा बालुवाटार पुर्याउने नै प्रहरीको आईजीपी, वरीयता र जेष्ठताको ध्यान कसलाई ?

काठमाडौं । नेपाल प्रहरीको कमान्डमा नयाँ नेतृत्व छनोट हुँदैछ । चार जना एआईजी प्रहरीको कमान्ड सम्हाल्न कम्मर कसेर लबिङ गरिरहेका छन् ।
अहिलेका प्रहरी प्रमुख आईजीपी शैलेश थापा क्षेत्री भोलिबाट नियमित अवकाशमा जाँदैछन् । उनको स्थान कसले लिने हो भनेर सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्रहरी कमान्ड सम्हाल्न धीरजप्रताप सिंहलाई सरकारले अघि सार्ने बताइएको छ । तर सिनियरका हिसाबले भने एआईजी विश्वराज पोखरेलले कमान्डको नेतृत्व गर्न पाउनु पर्ने हो । तर बिगतलाई कोट्याउने हो भने सरकारले आफूले चाहेको प्रहरीलाई कमान्ड सम्हालन दिने चलन छ ।
निर्वाचनको मुखमा नेपाली कांग्रेसले फेरि नेपाल प्रहरीमा ठाडो हस्तक्षेप गरेर २०७३ सालको घटना दोहोर्याउने भन्दै आलोचना भइरहेको छ । माघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले शेरबहादुर देउवाकै चाहनामा डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेपछि प्रहरीमा वरियता, जेष्ठता, कार्यसम्पादन मूल्यांकन सबै मिचेर अन्याय गरेको मुद्दा चर्किएको थियो । सरकारले जेष्ठ एआईजीपी विश्वराज पोखरेललाई लत्याएर १६ महिना जुनियर एआईजीपी धीरजप्रताप सिंहलाई जबर्जस्ती प्रहरीको आईजीपी बनाउने निर्णय सम्भवत आजैको मन्त्रिपरिषद् बैठकले गर्ने स्रोतको दाबी छ ।
२०७३ सालमा डीआईजी जयबहादुर चन्दका प्रतिस्पर्धी रहेका अर्का एक नम्बर डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्च अदालतले तत्काल चन्दलाई महानिरीक्षक नबनाउनू भनी अन्तरिम आदेश दिएको थियो । कार्यसम्पादन मूल्यांकनका आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्नू भनी ८ चैत २०७३ मा निर्देशनात्मक आदेश दिँदै चन्दको नियुक्ति खारेज सर्वोच्चले गर्यो ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले तत्कालीन डीआईजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्यांकनको अंक सबैभन्दा धेरै देखिएको भन्दै उनैलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसबखत कांग्रेसले मिचाह प्रवृत्तिले गर्दा चरम विवाद परेपछि २०७४ मंसिरमा भएको आम निर्वाचनमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग र प्रहरी फोर्समा नेपाली कांग्रेसले गरेको निर्मम हस्तक्षेप प्रमुख मुद्दा बनेपछि कांग्रेस निर्वाचनमा नराम्रोसँग पराजित भएर पहिलो दलबाट दोस्रोमा खुम्चिएको थियो ।
यो पटक पनि एआईजीपी विश्वराज पोखरेलभन्दा १६ महिना र एआईजीपी सहकुल थापाभन्दा ११ महिना जेष्ठता, वरियता सबै मिचेर कांग्रेसले चुनावको मुखमा आफू पक्षधरलाई कमान्ड सम्हाल्न दिन लागेको स्रोतको दाबी छ । जेष्ठताको आधारमा प्रतिस्पर्धा नै हुन नसक्ने र पूरा सिस्टम नै मिचेर नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप गरेर कांग्रेसीकरण गरिएको छ । कांग्रेसले मिचाहा प्रवृत्ति देखाउने र आफ्नो नजिककालाई नेतृत्व सुम्पिने पुरानी बानी हो भन्दा फरक पर्दैन । कांग्रेसले जसले धेरै पैसा दिन्छ उसैलाई नेतृत्व दिने एक पूर्व उच्च तहका प्रहरी कर्मचारीले बताए । उनले भने, ‘जसले ब्रिकेसभरी पैसा बालुवाटार पुर्याउछ उही नै आईजीपी बन्छ । यहाँ वरियता भन्ने कुरा हुँदैन, जे हुन्छ पैसा र शक्तिको भरमा हुन्छ ।’
यस्तो छ भाबी सम्भावित आईजीहरुको बिगत
नेपाल प्रहरीमा १२ चैत २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डीएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे । सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर, एसएसपी हुँदा उनी नम्बर वानबाट तल झारिए । विश्वराज पाखरेलले त्यसपछि निरन्तर बाजी मार्दै गए ।
सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डीएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे । सिंह २ नम्बरमा एसएसपी बढुवा भए । डीआईजी बढुवामा पोखरेलले फेरि छलाङ मारे । डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भयो । पूर्व आईजीपी ठाकुर ज्ञवालीको ब्याचका वीरेन्द्र श्रेष्ठलाई बढुवाको प्रयास भयो । तर, पोखरेलले राजनीतिक प्रभावमा डीआईजी बन्ने सफलता हासिल गरे । उनले आफूभन्दा अघिल्लो ब्याचीलाई मात्र नभई दुई ब्याचलाई उछिनेका थिए ।
पोखरेललाई डीआईजी बनाउन तत्कालीन केपी शर्मा ओली सरकारका प्रभावशाली मन्त्रीहरुको दबाब परेको थियो । हालका आईजीपी शैलेश थापा क्षेत्री आईजीपी बन्दा प्रतिस्पर्धीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की थिए । चारैजनालाई उछिनेर पोखरेल आईजीपी बन्ने प्रयासमा लागेका थिए । तर, त्यसमा उनी सफल भएनन् । पछि क्षेत्रीकै ब्याचीहरु पाल, शाही र कार्की एआईजीमा बढुवा भए ।
पोखरेलले शक्तिको प्रयोग गरेर एआईजीको दरबन्दी सृजना गराउन सके । उनी एआईजी बढुवा भए । एमालेकै एउटा पक्ष उनीसँग असन्तुष्ट हुँदै गयो । त्यसपछि एआईजीको अर्को दरबन्दी सृजना गरेर सहकुल थापालाई एआईजी बढुवा गरियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआईजीको दरबन्दी सृजना गरी धीरजप्रताप सिंहलाई अगाडि बढाउने तयारी भयो । त्यस अनुसार सिंहसहित रवीन्द्र धानुक एआईजीमा बढुवा भए । उनीहरुसँगै हालका आईजीपी क्षेत्रीसँगै वसन्त पन्तको भाग्योदय भयो । उनी एआईजीमा बढुवा भए ।
अहिले आईजीपीको प्रतिस्पर्धा पेचिलो बनेको छ । प्रतिस्पर्धामा ४ जना छन् । विश्वराज पोखरेल वरियतामा पहिलो, सहकुल थापा दोस्रो, धीरज सिंह तेस्रो र रवीन्द्र धानुक चौंथो नम्बरमा छन् । नेपाल प्रहरीले आजको मन्त्रिपरिषदबाट नयाँ आइजीपी पाउने लगभग पक्का छ । १९ वैशाखबाट वर्तमान आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुने निश्चित भएसँगै नयाँ आईजीपी पाउने भएको हो ।
नयाँ आईजीपी बनाउन सरकारले गृहकार्य थालिसकेको छ । यसका लागि प्रहरी नियमावली अनुसारको मूल्यांकन गृहमा पठाएर त्यहाँबाट मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषदले आईजीपी नियुक्त गर्नेछ । प्रहरी नियमावली अनुसार ‘जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भन्ने छ । नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् ।
विभिन्न आधारहरुलाई टेकेर सरकारले आईजीपी नियुक्ति प्रक्रियामा कदम बढाइसकेको बुझिएको छ । अबको केही दिनभित्रै नयाँ आईजीपीले कमान्ड सम्हाल्नेछन् । स्थानीय चुनाव आउन केही दिनमात्र बाँकी रहेको र संघ र प्रदेशको चुनाव पनि यसै वर्ष हुने भएकाले प्रहरीका आईजीपी को बन्ने भन्ने चासो बढेको छ । जसरी पोखरेल र थापाले गरे त्यसरी नै सिंह र धानुक दरबन्दी सृजना गरी एआइजी बढुवामा परे । यसलाई उनीहरुमध्येबाट प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी बनाउन खोजेको बुझ्न थालियो । हुनपनि सिंहलाई आईजीपीमा बढाउने गरी बालुवाटार सकारात्मक भइसकेको छ । सम्भवतः सिंहलाई नै आईजीपी बनाउने तयारी भएको विश्वस्त स्रोतले बताएको छ ।
बालुवाटारमा आईजीपीमा वरियता मिच्न हुँदैन भन्ने सुझावहरु नपुगेका होइनन् । तर, देउवाले पुराना इतिहास हेरेको बुझिएको छ । हालका आईजीपीका ४ प्रतिस्पर्धीहरु एसपी हुँदाको अवस्था पनि अध्ययन गरेका छन् । एसएसपी पछि भने राजनीतिक पहुँचका आधारमा छलाङ मार्न थालेको देखिएको छ । यसमा राजनीतिक प्रभावले पनि काम गरेको थियो । विशेषगरी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विश्वराज पोखरेलले सबैभन्दा बढी फाइदा लिए । उनले इश्वर पोखरेलको साथ पाएर आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर बढे । यतिसम्मकी शैलेश थापा क्षेत्रीको ब्याचीलाई उछिनेर आईजीपी बन्ने सम्मको महत्वाकांक्षामा पुगे । ओली सरकार ढल्दै गर्दा सहकुल थापाले पनि एआईजीको दरबन्दी सृजना गरी बढुवा पाउन सफल भए ।
बालुवाटारले यही इतिहास बुझेर धीरजप्रताप सिंहलाई अगाडि बढाएको बुझिएको छ । उनीसँगै अन्य दुईलाई समेत बढुवा दिने गरी दरबन्दी सृजना गरियो । यसभित्र सिंहलाई नै आईजीपी बनाउने योजना थियो । अब कुनै आश्चर्यजनक घटना विकास नभए सिंह नै आईजीपी बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया