नेपाल प्रहरीको कमान्ड धीरजप्रतापको काँधमा

नेपालखोज २०७९ वैशाख १८ गते १४:०६

काठमाडाैं । नेपाल प्रहरीको कमान्ड सम्हाल्ने जिम्मा धीरजप्रताप सिंहलाई सरकारले दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई वरीयता मिच्दै नियुक्त गरेको हो ।

वरीयता र जेष्ठताका आधारमा विश्वराज पोखर‍ेलले नेतृत्व पाउनुपर्ने थियो । तर सरकारले नियम नै उल्लंघन गरेर सिंहलाई नियुक्त गरेको हो । गृह मन्त्रालयले भने पोखरेलाई आईजीपी बनाउन सिफारिस गरेको थियो ।

अहिलेका प्रहरी प्रमुख आईजीपी शैलेश थापा क्षेत्री भोलिबाट नियमित अवकाशमा जाँदैछन् । सिनियरका हिसाबले भने एआईजी विश्वराज पोखरेलले कमान्डको नेतृत्व गर्न पाउनु पर्ने हो । तर बिगतलाई कोट्याउने हो भने सरकारले आफूले चाहेको प्रहरीलाई कमान्ड सम्हालन दिने चलन छ । र सरकारले बिगतलाई नै निरन्तरता दिएर सिंहलाई नियुक्त गरेको हो ।

सरकारले जेष्ठ एआईजीपी विश्वराज पोखरेललाई लत्याएर १६ महिना जुनियर एआईजीपी धीरजप्रताप सिंहलाई जबर्जस्ती प्रहरीको आईजीपी बनाउने निर्णय गरेको हो । एआईजीपी सहकुल थापाभन्दा ११ महिना जेष्ठता, वरीयता सबै मिचेर कांग्रेसले चुनावको मुखमा आफू पक्षधरलाई कमान्ड सम्हाल्न दिएको हो । जेष्ठताको आधारमा प्रतिस्पर्धा नै हुन नसक्ने र पूरा सिस्टम नै मिचेर नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप गरेर कांग्रेसीकरण गरिएको छ । कांग्रेसले मिचाहा प्रवृत्ति देखाउने र आफ्नो नजिककालाई नेतृत्व सुम्पिने पुरानी बानी हो भन्दा फरक पर्दैन । कांग्रेसले जसले धेरै पैसा दिन्छ उसैलाई नेतृत्व दिने एक पूर्व उच्च तहका प्रहरी कर्मचारीले बताए । उनले भने, ‘जसले ब्रिकेसभरी पैसा बालुवाटार पुर्‍याउछ उही नै आईजीपी बन्छ । यहाँ वरियता भन्ने कुरा हुँदैन, जे हुन्छ पैसा र शक्तिको भरमा हुन्छ ।’

यस्तो छ आईजीको बिगत

नेपाल प्रहरीमा १२ चैत २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डीएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे । सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर, एसएसपी हुँदा उनी नम्बर वानबाट तल झारिए । विश्वराज पाखरेलले त्यसपछि निरन्तर बाजी मार्दै गए ।

सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डीएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे । सिंह २ नम्बरमा एसएसपी बढुवा भए । डीआईजी बढुवामा पोखरेलले फेरि छलाङ मारे । डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भयो । पूर्व आईजीपी ठाकुर ज्ञवालीको ब्याचका वीरेन्द्र श्रेष्ठलाई बढुवाको प्रयास भयो । तर, पोखरेलले राजनीतिक प्रभावमा डीआईजी बन्ने सफलता हासिल गरे । उनले आफूभन्दा अघिल्लो ब्याचीलाई मात्र नभई दुई ब्याचलाई उछिनेका थिए ।

पोखरेललाई डीआईजी बनाउन तत्कालीन केपी शर्मा ओली सरकारका प्रभावशाली मन्त्रीहरुको दबाब परेको थियो । हालका आईजीपी शैलेश थापा क्षेत्री आईजीपी बन्दा प्रतिस्पर्धीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की थिए । चारैजनालाई उछिनेर पोखरेल आईजीपी बन्ने प्रयासमा लागेका थिए । तर, त्यसमा उनी सफल भएनन् । पछि क्षेत्रीकै ब्याचीहरु पाल, शाही र कार्की एआईजीमा बढुवा भए ।

पोखरेलले शक्तिको प्रयोग गरेर एआईजीको दरबन्दी सृजना गराउन सके । उनी एआईजी बढुवा भए । एमालेकै एउटा पक्ष उनीसँग असन्तुष्ट हुँदै गयो । त्यसपछि एआईजीको अर्को दरबन्दी सृजना गरेर सहकुल थापालाई एआईजी बढुवा गरियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआईजीको दरबन्दी सृजना गरी धीरजप्रताप सिंहलाई अगाडि बढाउने तयारी भयो । त्यस अनुसार सिंहसहित रवीन्द्र धानुक एआईजीमा बढुवा भए । उनीहरुसँगै हालका आईजीपी क्षेत्रीसँगै वसन्त पन्तको भाग्योदय भयो । उनी एआईजीमा बढुवा भए ।

प्रतिक्रिया