नेपालमा पनि भिगन जीवनशैली बढ्दै

काठमाडौं । फलाहार पूर्वीय सभ्यताको एउटा महत्त्वपूर्ण जीवनशैली हो । प्राचीनकालका ऋषिमहर्षिहरूले प्रतिपादन गरेको वैज्ञानिक जीवनकला हो । मानव मनमस्तिष्कलाई चुस्त र देहलाई स्वस्थ राख्न पाश्र्वअसर (साईड ईफेक्ट) रहित जीवन विज्ञानको रूपमा हाम्रा पुर्खाहरूले उम्रेका तथा फलेका चीजहरूको मात्रै सेवन गरी पूर्ण शाकारहार जीवन यापन गर्ने पद्धति बसालेका थिए जसलाई फलाहारी भनिन्छ ।
यसैलाई पछिल्लो समयमा भिजन भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बोधन गर्न थालिएको छ । फलाहार जीवनको बारेमा पछिल्लो समयमा पनि खोजसोध र अनुसन्धान हुन थालेको छ । स्वस्थ रहनको लागि अनाज पनि अर्गानिक खानुपर्छ, खाद्य वैज्ञानिकहरूले भन्न थालेका छन् । जब कि प्राचीनकालमा पूर्णतया अर्गानिक अनाजमात्रै हुन्थ्यो ।
जब खेतीमा विषादी र रासायनिक मलको प्रयोग बढ्यो अर्गानिक अनाजको उपलब्धि कठिन भयो । त्यतिमात्रै होइन पशुपालन र प्रजनन् आदिमा समेत कृतिम प्रक्रिया अप्नाउन थालेपछि दुग्धादि पदार्थ पनि पौष्टिक नभएर रोगकारक हुन गयो । जसले गर्दा दुग्धादि पदार्थले पनि मान्छेमा मुटूरोग, आन्द्राको रोग लगायत धेरै रोगहरू बढायो । मांसाहार त क्यान्सर, मुटूलगायतका रोगको सबैभन्दा ठूलो कारक बन्नपुग्यो । आदिइत्यादि कारणले वर्तमानमा पनि विश्वव्यापि रूपमा भिगन (फलाहार) जीवनशैली अप्नाउनेहरू बढेका छन् । भिगनहरूले मांसाहार त परै जाओस् जीवजन्तुको दुध र दुग्धजन्य पदार्थको पनि सेवन गर्दैनन् ।
बच्चाकालमा आफ्नो आमाको बाहेक अन्य समयमा अरु कसैको पनि दुध खानु पाप हो भन्ने मान्यता भिगनिजमको पाइन्छ । सामान्यतया शाकाहारी जसले दुग्धजन्य पदार्थ खान्छन् मात्र माछामासु खाँदैनन् उनीहरूलाई त त्यति सहज छैन भने भिगन अथवा फलाहार (पूर्णशाकाहार) जीवनका पारखीहरूलाई विश्वव्यापि रूपमा खानपान व्यवहार कठिन छ नै । जहाँतहाँ भिगन खाना उपलब्ध छैन । यद्यपि फलाहारी (भिगन) भोजनको उपलब्धि त्यति सहज छैन र पनि विश्वव्यापि रूपमा यो जीवनशैली अप्नाउनेहरू बढेर गएका छन् । नेपालमा पनि दिनप्रतिदिन भिगन एक्टिभिस्टहरू बढ्दै गएका छन् । लोकव्यवहारमा दुग्धजन्य खाद्यलाई शाकाहारी भनेपनि वास्तवमा पूर्णशाकाहारी मानिदैन । पूर्णशाकाहारी हुनलाई फलेको र उम्रेको मात्रै सेवन गर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । दुग्धजन्य पदार्थ गाईभैंसी आदि प्राणीबाटमात्र सम्भव हुने भएकोले पूर्ण शाकाहारीभित्र नपर्ने सम्बन्धितहरू बताउँछन् ।
यसै सन्दर्भमा हालै काठमाडौंमा एउटा भिगन विवाहा सम्पन्न भएको छ । अमेरिकामा बस्दै आएका नेपालकी डा. विसल्या न्यौपाने र नयाँ दिल्ली भारतका ई. चञ्चन चौहानको विवाह काठमाडौंका ह्यात होटेलमा र भोज होटेल शङ्करमा भयो । जसमा मांसमदिरा त परै जाओस् दुग्धजन्य पदार्थको पनि प्रयोग नगरी पूर्ण शाकाहारी रूपमा व्यवस्था गरिएको थियो । पाँचतारे होटेलमा विना मांसमदिरा र दुग्धपदार्थको प्रयोग विवाह र भोज भयो भन्दा सामान्यतया सबैलाई अचम्म पनि लाग्नसक्छ । वरबधुलाई आशीर्वाद दिन आएका आफन्ती निम्तालुहरूले भिगन खाना बडो प्रसन्नताको साथमा ग्रहण गरेको देखिन्थ्यो । विवाहमा मासु नै हुनुपर्छ, वाईन नै हुनुपर्छ भन्ने मान्यता बोकेको समाजको लागि यो एउटा चोटिलो उदाहरण बन्न पुग्यो । विवाहमा आजकाल दुईप्रकारका मान्छेको प्रतिक्रिया सुन्न पाइन्छ । एउटा पक्षले शाकाहारी विवाहमा गयो भने विवाह भनेको त श्राद्धे खान आइए छ भन्छ । अर्कोपक्षले मांसाहारी भोजलाई सिनेभोज भन्छ । तर भिगन भोजलाई कसैले कुनै नकारात्मक प्रतिक्रिया दिनै नपाएको बुझिन्थ्यो ।
किन अन्य विवाह भोजको जस्तो नगरेर फरक खालको गर्नु भयो भन्ने प्रश्नमा – संसारमा जे जति अमानवीय कार्य भइरहको छ र पृथ्वी दिप्रतिदिन असुरक्षित हुँदै गएको छ, मानवीयता लोप हुँदै गएको छ, त्यो मान्छेले आफ्नो स्वार्थ पूरा गर्न अन्य प्राणीमाथि गरेको अत्याचारको कारणले भएको छ । यदि विश्व ब्रह्माण्डलाई नियममा राख्ने हो भने पहिला मान्छे नियममा बस्नु पर्छ । हामीलाई दुध खाने अधिकार आफ्नो आमाको मात्रै छ ।
हामीले आफ्नो लागि अन्य प्राणीका छोराछोरीको आहार चोरेर खाएका छौं, निरीह पशुमाथि ठूलो अन्याय गरेका छौं । अबोध प्राणी माथी अन्याय गरेर हामी मानिसहरू चेतनशी मानव होइन दानव बनेका छौं । मान्छेले वास्तवमा भन्ने हो भने माछामासु मात्रै होइन बच्चाकालमा आफ्नो आमाको बाहेक अन्य समयमा कुनै पनि प्राणीको दुध खान हुन्न । मानव स्वास्थ्यले पनि दुग्धजन्य पदार्थलाई स्वीकार गर्दैन । ऐले धेरै रोगहरू माछामासु र दुग्धजन्य पदार्थबाट हुने गरेका छन् ।

प्रतिक्रिया