शुक्रबार, भदौ २८, २०८१

नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु

नेपालखोज २०७९ वैशाख १९ गते १८:२९

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा खोलेको हो ।

नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको छ । एसिया र प्रशान्त क्षेत्रमा इन्जिनियरिङ तथा उत्पादनमूलक क्षेत्रको विस्तार र स्थानीयकरणमा गतिशील विकासले गर्दा प्रगतिका अवसरहरु बढेका छन् । यस क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ ।

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ । ११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिनेछ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले भने, ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा छौं । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरुका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको छ । हामीले हाम्रा अत्याधुनिक र विशिष्ट रुपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका छौं । हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षा गर्दछौं ।’

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको छ । समय क्रममा बोसले जीवनस्तरलाई अझ माथि उकास्ने लक्ष्य लिएर उपयोगी र रोमाञ्चक उत्पादन तथा समाधान विकास गर्ने उद्देश्य प्राप्तिका लागि अनुसन्धान र विकासमा अर्बौं यूरो लगानी गरेको छ ।

बोस ग्रुपबारे

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख १ हजार ३०० जनालाई रोजगारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को बिक्री ७८.८ अर्ब यूरो बराबर छ । यसको सञ्चालन व्यवसायका चार क्षेत्रमा विभाजित छन्ः मोबिलिटी सलुसन्स, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि हुन् ।

प्रमुख आईओटी प्रदायकको रुपमा बोसले स्मार्ट घर, इन्डस्ट्री ४.० र कनेक्टेड मोबिलिटीका लागि नयाँ नयाँ सलुसन्सहरु प्रदान गर्दछ । बोसले दीर्घकालीन, सुरक्षित र रोमाञ्चकारी मोबिलिटीको भिजन पछ्याइरहेको छ । यसले आफ्नो विज्ञता सेन्सर प्रविधि, सफ्टवेयर र सेवामा प्रयोग गर्दछ । यसको आफ्नै आइओटी क्लाउड छ । यसको उद्देश्य आफ्ना ग्राहकलाई एउटै स्रोतबाट संयोजित, क्रस–डोमेन समाधानहरु प्रस्तुत गर्नु हो । बोस समूहको रणनीतिक उद्देश्य कृत्रिम बौद्धिकता (एआई)युक्त वा यसको सहयोगमा उत्पादित वा विकसित वस्तु र समाधानसँग जोडिएको जीवनलाई सहजीकरण गर्नु हो । बोसले नवीन उत्पादन र सेवामार्फत विश्वभरको जीवनको गुणस्तर सुधार गर्दै उमंग जागृत गराउँछ । छोटकरीमा भन्नुपर्दा यसले ‘जीवनका लागि आविष्कार गरिएको’ प्रविधि सिर्जना गर्दछ ।

द बोस ग्रुपमा रोबर्ट बोस जीएमबीएच र यसका करिब ४४० भगिनी संस्था तथा ६० देशमा छरिएका क्षेत्रीय कम्पनीहरु छन् । सेल्स एन्ड सर्भिस पार्टनरसहित बोसको ग्लोबल म्यानुफ्याक्चरिङ, इन्जिनियरिङ र बिक्री सञ्जालले विश्वका लगभग सबै मुलुकलाई समेट्छ । विश्वभर ४०० भन्दा बढी ठेगाना रहेको बोस ग्रुप सन् २०२० को पहिलो त्रैमासदेखि कार्बन न्युट्रल (कार्बन तटस्थ) बनेको छ । कम्पनीको भावी प्रगतिको आधार यसको नवप्रवर्तन शक्ति हो । विश्वका १२८ ठेगानामा बोसले ७६ हजार ३०० जनशक्तिलाई अनुसन्धान र विकासमा खटाएको छ, जसमा ३८ हजारभन्दा बढी सफ्टवेयर इन्जिनियर छन् ।
यो कम्पनी सन् १८८६ मा स्टुटगार्टमा रोबर्ट बोस (१८६१–१९४२)ले ‘वर्कसप फर प्रिसिसन मेकानिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियर’को नामबाट स्थापना गर्नुभएको हो । रोबर्ट बोस जीएमबीएचको विशेष स्वामित्व संरचनाले बोस समूहको उद्यमसम्बन्धी स्वतन्त्रताको ग्यारेन्टी गर्छ, जसले गर्दा कम्पनीलाई दीर्घकालीन योजना बनाउन र आफ्नो भविष्यको सुरक्षामा महत्वपूर्ण अग्रिम लगानीहरु गर्न सम्भव बनाउछ ।

रोबर्ट बोस जिएमबिएचको ९४ प्रतिशत सेयर पुँजी परोपकारी फाउन्डेसन रोबर्ट बोस स्टिफ्टुङ जीएमबीएचसँग छ । बाँकी सेयर रोबर्ट बोस जीएमबीएचसँग र बोस परिवारको स्वामित्वमा रहेको एउटा निगमसँग छ । बहुमत मताधिकार रोबर्ट बोस इन्डस्ट्रिएट्रेउहान्ड केजीसँग छ । यो चाहिँ औद्योगिक ट्रस्ट हो । उद्यमसम्बन्धी स्वामित्वको काम सोही ट्रस्टबाट हुन्छ ।

प्रतिक्रिया