बिहीबार, वैशाख ६, २०८१

‘प्रेस स्वतन्त्रतालाई थप परिपक्व र मजबुत तुल्याउने विषयमा दिवसको विशेष महत्त्व’

नेपालखोज २०७९ वैशाख २० गते १५:१५

काठमाडाैं । नेपालमा प्रेस स्वतन्त्रतालाई लिएर लामै लडाइँ लडिएको छ । खासगरी यो लडाइँ नेपालको प्रजातान्त्रिक आन्दोलनसँगै चल्दै , विकसित हुँदै आएको छ । अहिले पनि संसारभर प्रेस स्वतन्त्रतालाई लिएर अनेकन बहस, छलफल र लडाइँहरु चलिनैरहेको छ । संसारभर आजको दिन अर्थात तीन मईका दिन विश्व प्रेस स्वतन्त्रता दिवस (World Press Freedom Day) मनाइन्छ ।

संसारभर मिडियालाई एउटा तागत वा शक्ति मानिन्छ । यहि सकारात्मक शक्ति कै कारण मिडियालाई लोकतन्त्रको चौथो स्तम्भ पनि मानिन्छ अनि यहि लोकतन्त्रलाई थप मजबुत तुल्याउने संकल्पका साथ प्रत्यक वर्ष वर्ल्ड प्रेस फ्रिडम डे अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस (World Press Freedom Day) मनाइन्छ ।

प्रेसको स्वतन्त्रताका लागि १९९१ मा अफ्रीकाका पत्रकारहरुले एउटा अभियान छेडेका थिए । ती पत्रकारहरुले तीन मईका दिन प्रेस स्वतन्त्रताको सिद्धान्त लाइ लिएर एउटा घोषणापत्र जारी गरे जसलाई डिक्लिरिएशन अफ विन्डहोक पनि भनिन्छ । दुई वर्ष पछि अर्थात १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले पहिलो पटक विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्ताव पारित गर्यो । त्यस पछिदेखि नै हरेक वर्ष तीन मईका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै आएको छ ।

किन मनाइन्छ ?

उहिलेदेखि अहिलेसम्म संसारमा कतै न कतै पत्रकारहरुमाथि उत्पीडन वा अत्याचारको खबर आइ नै रहेको छ किनभने पत्रकारिता एउटा जोखिमपुर्ण काम पनि हो । पत्रकारिता कर्मका क्रममा कतिपय अवस्थामा पत्रकारहरुमाथि हमलाहरु पनि हुन्छन् । संसारका सबै कुनाबाट समय-समयमा यस्ता हमला वा हत्याका समाचार सार्वजनिक भै नै रहन्छन् ।

पत्रकारहरु बिरुद्ध हुने यस्तै उत्पीडन तथा अत्याचारसँग लड्न तथा पत्रकारहरुको आवाज कुनै पनि शक्तिले कुनै पनि अवस्थामा दबाउन नसकोस भनेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । यो अवसरमा १९९७ देखि यूनेस्कोले गिलेरमो कानो वर्ल्ड प्रेस फ्रीडम पुरस्कार प्रदान गर्दै आएको छ ।

यो पुरस्कार त्यस्ता संस्था वा व्यक्तिलाई प्रदान गरिन्छ जसले प्रेस स्वतन्त्रताका पक्षमा उल्लेखनीय योगदान दिएका हुन्छन् । ३ मईमा संसारभर पत्रकार तथा पत्रकारितासँग सम्बद्ध ब्यक्ति एवं संस्थाहरुले विभिन्न कार्यक्रम आयोजित गर्छन् र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँछन् ।

यसक्रममा यस पटक संसारको आँखा अफगानिस्तानमा खोसिएको प्रेस स्वतन्त्रता अनि युक्रेनको युद्धग्रस्त क्षेत्रमा भइरहेको पत्रकारहरुको मृत्यु वा हत्यामा केन्द्रित छ । नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रतालाई थप परिपक्व र मजबुत तुल्याउने विषयमा यो दिवसको विशेष महत्त्व छ ।

प्रतिक्रिया