शनिबार, असोज ५, २०८१

नमुना मतदानमै मत बदर

नेपालखोज २०७९ वैशाख २० गते १२:४७

काठमाडाैं । नेपाल पत्रकार महासंघ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमुना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । नमुना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमुना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भने ।

कार्यालय प्रमुख ढकालले भने, ‘मतदानका दिन के के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यसहित नमुना मतदान कार्यक्रम गरिएको हो । यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, ओमकार आचार्यलगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । नमूना मतदानमा सहभागी व्यास नगरपालिका-२ की एलिना कुमालले आफू पहिलोपटक मतदानमा सहभागी हुन लागेकाले यो कार्यक्रमले सहज बनाएको बताए । व्यास नगरपालिका-३ निवासी दुर्गाविलास भट्टराईले मतदाता शिक्षा कार्यक्रम कमजोर रहेकाले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ ।-रासस

प्रतिक्रिया