‘जलविद्युतमा ठूलो लगानी विस्तार गर्न सके नेपाल श्रीलंकाको बाटोमा अग्रसर’

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । आज काठमाडाैंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगाताररुपमा ६,७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदासमेत व्यापार घाटा हुने समस्या वर्षौसम्म भइरहने बताए । डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने वस्तु निर्यात गर्ने गरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए ।
उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए । जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चार वटा आयोजनाहरु एकैचोटी निर्माण गरेर वर्र्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौ भने नेपाल श्रीलंकाको बाटोमा जाने डा. खतिवडाले बताए ।
उनले अब निर्यातमुलक उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखा पर्नु तीन वटा निकायबीच समन्वयको अभाव भएको आरोप खतिवडाले लगाए । उनले अर्थ, वाणिज्य मन्त्रालय एकापटि र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सरकारले चामल नभएर राइस भनेर आयात हुने कनिका नै रोक्नु पर्ने उनको भनाई छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धको कारणले मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताए । उनले युद्धको कारण पेट्रालियम पदार्थको मूल्य निरन्तररुपमा बढ्दै गएकाले थप चुनौती बढेको बताए । विश्वमा नै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको भट्टले बताए ।
उनले राष्ट्रिय तथ्याङक विभागको तथ्यांक उल्लेख गर्दै नेपालमा आर्थिक गतिविधिहरु चलायमान भइरहेको बताए । प्रवक्ता भट्टले पछिल्लो समय ९० प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आएको बताए । उनले अर्थतन्त्र पुरुउत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नु समस्या रहेको बताए । वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत मात्रै कर्जा विस्तार हुने अनुमान भए पनि अहिले २२ प्रतिशतले कर्जा विस्तार भएको बताए ।
त्यस्तै, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसीले पछिल्लो समय अर्थतन्त्र चलायमान भएकाले बैंकहरुले विगतमा लगाएको लगानी प्रभाव देखिएको बताए । उनले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकले कृषिमा ३० प्रतिशत र माइक्रोफाइनान्समा ३८ प्रतिशत र समग्र उत्पादन उद्योगमा ४५ प्रतिशत लगानी भईरहेको बताए । सिइओ केसीले बैंकहरुले कृषिमा लगानी गछौं भने दुई प्रतिशतको प्रिमियममा लाग्ने अवस्था रहेकाले समस्या देखिएको बताए ।

प्रतिक्रिया