शनिबार, वैशाख २९, २०८१

चाहिएको छैन अहिले नगर लैजा त्यो नमस्ते, कसम भाइ गर्ने भए चुनावपछि आइज

अर्जुन पराजुली

नेपालखोज २०७९ वैशाख २१ गते १४:४४

कसम भाइ ! भोट माग्न चुनावपछि आइज
कसम भाइ ! तेल घस्न चुनावपछि आइज !

चाहिएको छैन अहिले नगर, लैजा त्यो नमस्ते
कसम भाइ ! गर्ने भए चुनावपछि आइज !

पुराना ती कसमलाई नै राख्ने ठाउँ छैन यहाँ
कसम भाइ ! नयाँ बेच्न चुनावपछि आइज !

सल्ले बनको बानरको नाच हेर्ने फुसर्द छैन
कसम भाइ ! तँ नाच्न चुनावपछि आइज !

मल नपाउने लाइनमा छु, गोडा उतै लाइनमै छन्
कसम भाइ ! गोडा मिच्न चुनावपछि आइज !

आफ्नै छोरीले लेखेको रेल हेर्न भ्याको छैन
कसम भाइ ! रेल देखाउन चुनावपछि आइज !

च्यातिएका गाउँलेका कुम्मा टालो हाल्दैछु म
तेरो नोटलाई कोट छेकाउन चुनावपछि आइज !!!

प्रतिक्रिया