शुक्रबार, जेठ ४, २०८१

कवि रामबाबु दाहालको ‘मनका स्वरहरू’

नेपालखोज २०७८ वैशाख २५ गते १०:१८

बुझून् कविता ,नबुझून् कविता
कवितै कविता
कविताका पङ्क्तिमा
जे जे लेख्छु, बुझेर लेख्छु
केही सोचेर लेख्छु
मनका आवेग हुनन्
वा सहस्र संवेगमा
छल्कियुन् छताछुल्ल भावना
र लेखियून् शब्द सलह
निस्फिक्री सम्प्रेषणीय क्षण
जीवनको सादृश्य रङ
शब्द थुङ्गा फूलमा उनिइन्छ कविता
पहिरिन्छ ओहो मान्छे !
चेतनाको संबाहक मादकता
श्रृङ्गारमा बोल्छ कविता र पो लेखिन्छ ।

मनको स्वरहरूमाकवि रामबाबु दाहालले ‘ मेरो कविताको आराधना ‘ शीर्षक कवितामा यसरी आफ्ना काव्यिक अभिव्यक्तिमाफत प्रस्तुत पाइन्छन् । यिनी लेखक समीक्षकमा रुपमा चिरपरिचित त थिए तर कविका रुपमा यसरि परिचित थिएनन् । फुटकर रुपमा २०३७ सालदेखि कविता भने प्रकाशन गर्दै आएका यिनको हालै मात्र ६५ वटा कविताको संग्रह लिएर नेपाली साहित्यको क्षितिजमा आएका छन् ।
लेखन शिल्पमा आफ्नै शैली कौशलका धनि यिनका रचना खास प्रकारले माझिएका र अर्थपूर्ण ढङ्गले बोलिएका हुन्छन् ।

झटारोमा धुँयेत्रो
अचानोमा खुकुरी
केवल माध्यम हुन्
तर समय वेग
ऑफै नि:सृत भइरहन्छ
मेरो मन शृङ्खला ।

संक्षिप्त आकारको यो कविता पङ्ति एउटा महाकाव्य हो भन्दा अत्युक्ति हुँदैन । संक्षिप्ततामा यति गहन भाष्य गर्न खोजेका छन् जसको सामान्यतः आकलन गर्न सकिन्न । मन मानिसको बिहंगम् छ । यो मनलाई ईश्वर कै रुपमा प्रतिस्थापित गरी कविले सर्वव्यापी सम्बोधन गर्न खोजेका छन् । धर्म भनेको आचरण हो, आस्था निष्ठाको आचरण । मन भनेको ईश्वरत्व हो । जसलाई सम्पूर्ण पाउन सकिन्न । यदि कथंमकदाचित पाइयो भने सम्पूर्णत देवत्व प्राप्ति हुनेछ भन्ने आशयको यो प्रतिकात्मक अभिव्यक्ति हो ।
कवि दाहाल ‘मनको कहर ‘ शीर्षक कवितामा भन्छन्

निस्तब्ध सन्नाटामा
मौनता सलबलॉउछ
रहर बॉच्ने जिजीविषा
पखेटा फिँजाउँछ
विहङ्गम क्षितिजपारि
स्वप्नपरीसँग।
भयातुर ऑखा जुधाउँछ
र सम्झन्छ
केही क्षण
मात्र केही क्षण
निमेषमा टोलाउँछ
समय प्रहर
मनको क़हर ।

मनका शान्ति ,सन्तुष्टि प्राप्तिमा संगत र अप्राप्तिमा विसंगत दुबै खाले स्वरहरु मुखरित भएका पाइन्छन् । सन्ताप द्वैश राग घृणा विद्रोह सबै स्वरहरु यिनका कवितामा छन् । ‘स्वप्न परिसंग ,भयातुर आँखा जुधाउँछ ‘ शृङ्गारिक रुपमा लेखिएको यो प्रतिकको बिम्ब विधान रहस्यवादमा आधारित छ । अभिधा बिम्बको रहस्यमय संकेतले कवितालांइ केही दुरुह बनाए पनि गहिरो दर्शनको प्रतिपादनमा उन्मुख पाइन्छ।
अर्को पङ्क्ति छ

उफ !
ईश्वरबिना देवत्व पनि
यति निरिह
लाग्छ
लकडाउनको उर्दी अगाडि
उसको त केही लागेन
र बुझें , मात्र बुझें
मान्छेको भगवान् केवल भय रहेछ ।

भयवादमा आधारित यो पङ्ति कम अर्थपूर्ण छैन । भयमान्छेको भगवान् रहेछ अर्थात् भय हुँदैन भने मान्छेको मनमा भगवान् पनि हुँदैन रै छ ।
विराट साहित्य संगम विराटनगरले २०७७ सालमा प्रकाशन गरेको कवि रामबाबु दाहालको कृति ‘मनका स्वरहरू ‘मा ६५ वटा कविता छन् । आवरण पृष्ठसहित कुल ११६ पृष्ठको यो प्रकाशनमा संगमका अध्यक्ष रितु आसिकको प्रकाशकीय मन्तव्य छ । उपाध्यक्ष मधु पोखरेलको कवि परिचय र आख्यानकार एवम् कवि नीलम कार्की निहारिका र कवि विकास न्यौपानेको भूमिका रहेको छ । आवरणको कला अनुराधासिंह थापाको पेन्टिङ छ ।कृतिको पछिल्ला केही पातामा २७ जना कवि लेखकको संक्षिप्त टिप्पणी पनि समावेश रहेको यो कृतिको मोल २५० रुपैयाँ रहेको छ ।

प्रस्तोता : शिवनारायण पण्डित सिंगल

प्रतिक्रिया