गार्मेन्टसम्बन्धी तालिम दिन सके उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो : गोल्यान

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् ।
आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताए । अध्यक्ष गोल्यानले सरकारले गार्मेन्टसम्बन्धी तालिमको व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाई छ ।
उनले सरकारले नेपालमा उत्पादित बस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गरे । सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका बस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताए ।
अध्यक्ष गोल्यानले पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यात हुने बस्तुको डिउटी निःशुल्क बनाउन पहल गर्न माग गरे । सरकारले निर्यातजन्य बस्तुमा निर्यात गर्दा अनुदानको व्यवस्था गर्नु पर्ने भन्दै अध्यक्ष गोल्यानले सरकारी अनुदान बिना अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुने बतए । उनले नेपालका साना निर्यात उद्योगहरुले निर्यात गर्न नसक्ने भएकाले सरकारले निर्यात हाउस स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै अध्यक्ष गोल्यानले नेपालमा पाइने मौलिक बस्तुहरु उत्पादनको लागि आवश्यक नीतिगत व्यवस्था गर्नू पर्ने बताए । उनले नेपालका निर्यातजन्य उद्योगहरुले पनि मौलिक उत्पादनमा जोड दिन आग्रह गरे । नेपालको गार्मेन्ट उद्योगले मात्रै नेपालमा २ लाख मानिसहरुलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने तर सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने अध्यक्ष गोल्यानले बताए । नेपालमा ६ खर्बको कपडा खपत हुने भए पनि १ खर्ब नेपाली उत्पादन रहेको बाँकी चोरबाटोमार्फत आउने गरेको बताए ।
त्यस्तै, पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दै गएकाले मुलुक आर्थिक संकटतिर गएको बताए । उनले मन्त्रालयको सचिवले व्यापार घाटाको विषयमा बोल्दा विगतमा सरकारले लुकाउने गरेको बताए । पछिल्लो समय सरकार आफै निर्यातमा भन्दा पनि आयातमा बढी जोड दिएकाले अहिले समस्या आएको उनको भनाई छ । सरकार आफै निर्यात भन्दा पनि आयातलाई प्रोत्साहन दिएर राजश्व हेरेर बस्दा अहिलो व्यापार घाटा उकालो लागेको बताए ।
त्यस्तै पूर्वसचिव घिमिरेले नेपालको निर्यात भन्दा पनि आयात महँगो हुनुु पर्ने बताए । उनले मुलुकमा उत्पादित बस्तु सस्तो हुनु पर्ने बताए । निर्यात सस्तो र आयात महँगो हुनको लागि राज्यका नीतिहरुले साथ दिनु पर्ने उनको भनाई छ । घिमिरेले राज्यका कुनै पनि नीतिहरुले निर्यातजन्य बस्तुको उत्पादनमा सहयोग नगरेको बताए ।
पूर्वसचिव घिमिरेले सिंहदबारमा एउटा सचिवले अर्को सचिवलाई, एउटा मन्त्रीले अर्को मन्त्रीलाई असफल बनाउन लागि रहेको र एउटा नीतिले अर्को नीतिलाई असफल बनाउन लागि रहेकाले समस्या भइरहेको बताए ।

प्रतिक्रिया