२२ सय अंकमा झर्यो नेप्से, ३१ अंकले घट्दा एक अर्ब २६ करोडको कारोबार
काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से ३१ दशमलव ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंकले घटेर चार सय ३६ दशमलव ८८ अंकमा पुगेको छ ।
दुई सय ३३ कम्पनीको २७ हजार पाँच सय ६६ पटकको कारोबारमा ३६ लाख दुई हजार आठ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएकामा आज कुल कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव २३ अंकले घटेर १५ सय ५० दशमलव ७१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८७ दशमलव ६३ अंकले घटेर तीन हजार नौं सय १४ दशमलव ५७ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ५९ दशमलव ९३ अंकले घटेर २५ सय १६ दशमलव ५७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि दुई सय १० दशमलव ८२ अंकले घटेर १० हजार दुई सय ७१ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक दुई सय ८६ दशमलव ८२ अंकले घटेर ११ हजार नौं सय ६६ दशमलव २८ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १३ सय ८२ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्रिन भेन्चर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ३६ प्रतिशतले घटेर तीन सय २४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ८९ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा चार करोड ५८ लाख ९६ हजार ६ सय ५९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया