विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण सहायता गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप उपलब्ध गराउने सम्झौंता गरिएको हो ।
आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौंतामा हस्ताक्षर गरे । कोभिड महामारी, जलवायू परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तिय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्याउने अर्थ सचिव मरासिनीले बताए ।
सम्झौंता पत्रमा कोभिड-१९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरुलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति परिवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ । त्यसैगरी यसले पुँजी, बिमा र प्रकोप जोखिम वित्तीय बजारहरु खोल्न र नविनतम वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।
उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तीय बजारहरुमा विस्तारित जलवायु उत्थानशिलता एजेन्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋण सहायताले सघाउने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया