शुक्रबार, चैत १६, २०८०

‘अतेशगाह’ अर्थात् ‘आगोको घर’

सदगुरु २०७९ वैशाख २३ गते ८:३१

-यस्तो भनिन्छ कि पार्वतीसँग विवाह गरेपछि जाडोयाममा समय बिताउन शिव हिमालयबाट उपयुक्त स्थान खोज्दै तलतिर झरे, किनकि हिमालयको कठ्याङ्ग्रिदो जाडोमा रहन पार्वतीलाई गाह्रो भएको थियो । शिव काशीमा आए, जसलाई प्राण-प्रतिष्ठाका माध्यमले भरपूर ऊर्जा भएको क्षेत्रमा बदलिदिए । यो पूरै सहरलाई विकसित मानव प्रणालीको विशाल ऊर्जा शरीरको रूपमा बनाइएको थियो । काशीमा निर्मित ७२००० मन्दिरहरू हाम्रो ऊर्जा प्रणालीको ७२००० नाडीहरूको प्रतीक हुन् । पौराणिक कथाहरूको अनुसार शिवलाई यो स्थान निकै मन परेको थियो, जसकारण उनले यहीँ रहने निधो गरे । यो शरीर आध्यात्मिक ऊर्जाले स्पन्दित छ । यो यस्तो स्थान हो, जहाँ लाखौँ तीर्थयात्रीहरू मुक्तिको खोजमा जान्छन् ।

-कैलाश यस धरतीमा दिव्य ज्ञानका लागि सबैभन्दा विशाल भण्डार हो । जब आदियोगी शिवले ज्ञानका सबै सात आयामहरू मानिसहरूको बुझ्न सक्ने क्षमताभन्दा पर छन् भन्ने कुरा महसुस गरे, उनले कैलाश पर्वतमा आफ्नो ज्ञानलाई ऊर्जाको रूपमा भण्डारण गरिदिए । यो ज्ञान आज पनि जीवित छ । शिव कैलाश पर्वतमा बस्छन् भन्ने विश्वास यो कुराको प्रतीक हो कि कैलाशमा शिवका ऊर्जाहरू स्पन्दित छन् । थुप्रै रहस्यदर्शी र योगीहरूले आफ्नो ज्ञान यस पर्वतमा विसर्जित गरेका छन् ।

-योग गाथाअनुसार शिवलाई सधैँ विनाशक भनिएको छ । योगको मूल उद्देश्य व्यक्तिको सीमित पहिचान नष्ट गर्नु हो । जबसम्म पहिचान नाश गरिँदैन, मनुष्यले आफ्नो असीम प्रकृति जान्न सक्दैनन्, मुक्ति पाउन सक्दैनन् । प्रथम योगी, आदियोगी शिवले यस्तो शक्ति हुन्, जसलाई हामी आफ्नो शरीर र मनसँग रहेको पहिचान नष्ट गरिदिन आह्वान गर्दछौँ, ताकि आफ्नो असीम प्रकृतिलाई सम्पूर्ण रूपमा अनुभव गर्न सकौँ ।

-जब शिवले योग विज्ञानलाई आफ्ना सात शिष्यहरू अर्थात् सप्तऋषिहरूलाई सञ्चारित गरे, उनले यस ज्ञानलाई टाढा-टाढा पुऱ्याउने जिम्मेवारी दिए । ग्रिसको डेल्फीमा रहेको अपोलो मन्दिर तिनैमध्येको एक स्थान हो । यस मन्दिरलाई कैयौँ मानिसहरूले पृथ्वीको नाभीसमेत भन्दछन्, किनकि त्यहाँ रहेको आमफलोस पत्थर लिंगजस्तै देखिन्छ । विगतमा शक्तिशाली योगीहरूले यो पूरै स्थानलाई तीन चक्रहरू (मूलाधार, स्वाधिष्ठान र मणिपुर चक्र) को प्रणालीका रूपमा निर्माण गरी प्राण-प्रतिष्ठा गरेका थिए । यसबाट हामीलाई यो थाहा हुन्छ कि यहाँ पनि आदियोगी शिवको प्रभाव रहेको थियो ।

-‘अतेशगाह’ को अर्थ हो ‘आगोको घर’ । यो अजरबैजानको बाकु सहरमा क्यास्पियन सागरको तटमा रहेको प्राचीन मन्दिर हो । यस मन्दिरमा देवनागिरी लिपिमा शिलालेख रहेको छ । जसमा शिव, ज्वालाजी, श्री गणेश अनि अरू थुप्रै देवताहरूको आह्वान गरिएको छ । सदियौँ पुरानो यस मन्दिरमा नटराजको मन्दिर पनि छ, जुन टाढा-टाढाको संस्कृतिहरूमा शिवको जीवित छाप रहेको प्रमाण हो । भारतीय उपमहाद्वीपका तीर्थयात्रीहरू यहाँ सदियौँदेखि यात्रा गरिरहेका छन् । सप्तऋषिहरूले आदियोगीको ज्ञान संसारभरि फैलाए, यहाँसम्म कि मध्ये एसियाको यो सानो कुनामा समेत ।

प्रतिक्रिया