जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो मात्र ८८ रनको लक्ष्य

नेपालखोज २०७९ वैशाख २४ गते १३:१३

काठमाडाैं । जिम्बावे ए टिमले दोस्रो एकदिवसिय खेलमा नेपाललाई मात्र ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए टिमले ३१ ओभर पाँच बलमा मात्र ८७ रनमा अलआउट भयो । जिम्बावे ए टिमले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । पहिलो खेलमा जिम्बावे ए टिमलाई जित दिलाउन महत्वपुर्ण भूमीका खेलेका इनोसेन्ट काया पहिलो बलमा नै खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि जिम्बावे ए टिमको स्कोर १५ रन हुँदा दोस्रो विकेट झर्यो । उसका मरुमानी चार रनमा आउट भए । त्यसपछि सेपास जुओ १० रनमा आउट हुँदा जिम्बावे ए टिमले २० रनमा तेस्रो विकेट गुमायो ।

त्यस्तै रोय कायापनि चार रनमा आउट हुँदा जिम्बावेको ब्याटिङ दबावमा परेको थियो । त्यसको केहि बेरमा नै क्लिभ माडान्डी मात्र एक रनमा आउट हुँदा जिम्बावे ए टिमले २५ रनमा पाँच विकेट गुमायो । जिम्बावेको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ३० रन हुँदा कप्तान टोनी ब्यक्तिगत दुई रनमा सोमपाल कामीको बलमा क्याचआउट भए ।

सातौं विकेटका लागि लुक जोंगी र जोनाथनविच ३५ रनको साझेदारी भएको थियो । तर लुक ब्यक्तिगत आठ रनमा आउट भएपछि नेपालले सातौं सफलता हात पार्यो । त्यो बेला जिम्बावे ए टिमको स्कोर ६५ रन थियो । त्यसको लगत्तै जोनाथन ब्यक्तिगत २७ रनमा आउट हुँदा जिम्बावे ए टिमले ६५ रनमा आठ विकेट गुमायो ।

एकपछि अर्को विकेट गुमाएको जिम्बावेले ६६ रन हुँदा नौं विकेट गुमायो । अन्तिममा जिम्बावे ए टिम ८७ रनमा अलआउट भयो । बलिङमा नेपालका लागि करण केसी र सोमपाल कामीले समान तीन तीन विकेट लिए । यस्तै सागर ढकालले एक तथा सन्दिप लामिछानले दुई विकेट हात पारे ।-नेप्लेज

प्रतिक्रिया