शनिबार, असार २१, २०८२

‘नेपाल र बेलायत सरकारबीच मात्र नभई जनस्तरको सम्बन्ध पनि प्रगाढ छ’

नेपालखोज २०७९ वैशाख २६ गते १६:०४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताएकी छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग मन्त्रालयमै आज (सोमबार) भएको भेटमा भुसालले कोभिड-१९ बाट सुरक्षित रहन बेलायत सरकारले नेपालाई पुर्‍याएको सहयोगप्रति धन्यवाद गरिन् । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरिन् ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताइन् । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल भ्रमणमा आउन लागेको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताइन् ।

प्रतिक्रिया