बिहीबार, वैशाख २०, २०८१

खडेरी पीडित सोमालीलाई विश्व बैंकको पाँच करोड डलर अनुदान

नेपालखोज २०७९ पुष २९ गते १९:०४

मोगादिसु । विश्व बैंकले खडेरीबाट अन्नको जोहो गर्न नपाएका झण्डै ८० लाख सोमालीलाई अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए) मार्फत पाँच करोड अमेरिकी डलर अनुदानस्वरुप उपलव्ध गराउने भएको छ ।

सोमालियाका लागि बैंकका देशीय प्रबन्धक क्रिस्टिना स्वेन्सनले सात करोड डलरको जारी सोमालिया अर्बन रेजिलिन्स प्रजेक्ट कार्यान्वयन गर्न तथा चरम खडेरीका कारण आन्तरिक रूपमा विस्थापित भएकाहरुलाई आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न अनुदान स्वीकृत भएको बताएका छन् ।

खडेरीबाट प्रभावित सोमाली जनतालाई विश्व बैंकले गरेको सहयोगको आपत्कालीन प्रतिकार्य, समन्वय एवम् अनुगमन सोमाली सरकारको नेतृत्वले गर्ने देशीय प्रबन्धक स्वेनसनले आज यहाँ एक विज्ञप्ति निकालेर जनाएका छन् ।

विगत पाँच वर्षदेखि सोमालिया चरम खडेरीको चपेटामा परेको छ । चार दशक यता सोमालियामा त्यस्तो खडेरी परेको थिएन । भोकमरीको जोखिममा रहेको सोमालिया पानीको चरम अभावबाट गुज्रिएको छ भने ७८ लाख जनता प्रभावित हुने अनुमान गरिएको छ ।

विश्व ब्याङ्कका अनुसार कोभिड-१९ को महामारी र युक्रेन द्वन्द्वका कारण खाद्यान्नलगायत दैनिक उपभोगका सामग्रीको मूल्यमा भएको अधिक वृद्धिले सर्वसाधारणको औसत आम्दानीमा ३० प्रतिशतले गिरावट आएको छ । उक्त अनुदानबाट अर्बन रेजिलिन्स प्रजेक्टका विद्यमान संस्थागत संरचनाको अनुगमन एवम् समन्वयका साथै खडेरी प्रभावितका समस्या अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) तथा उसका साझेदारद्वारा कार्यान्वयन हुनेछ ।

सोमालियाका अर्थमन्त्री एल्मी नुरले आर्थिक अभावको जटिल क्षणमा विश्व ब्याङ्कले उपलब्ध गराएको थप आर्थिक सहयोगबाट परियोजनामा सहभागी भएका नगरपालिका तथा अति जोखिममा परेका समुदायका सदस्यलाई सेवा पुर्‍याउन उपयोगी हुने बताएका छन् ।

परियोजनामार्फत मोगादिसु, बाइडोआ र गारोवेमा ठूलो सङ्ख्यामा आएका सोमालीलाई पानी, सरसफाइ, स्वास्थ्य र पोषण सेवाका साथै आपत्कालीन नगद उपलव्ध गराइने छ । यो वर्ष ती स्थानमा करिब छ लाख खडेरी पीडित जीवन यापनाका आधारभूत आवश्यकता पूरा गर्न पाउने आशमा आएका छन् ।

प्रतिक्रिया