आइतबार, जेठ ६, २०८१

एनआरएनएले अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

नेपालखोज २०७९ वैशाख २६ गते १६:३८

काठमाडौं । नेपालको आयोजनामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको छ । मन्त्रिपरिषद् बैठकले जेठ २२-२८ गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मिति तोकेपछि अहिले सरोकारवाला निकायहरु पनि तयारीमा व्यस्त बनेका छन् ।

अब एक महिनाभन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ-आफ्नै तरिकाले तयारी सुरु गरेका हुन् । कान्छो विभागको रुपमा गत आठौं राष्ट्रियबाट सहभागी भएको गैरआवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस) ले पनि तयारी तीव्र पारिएको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य-सचिव धर्मराज गिरीले जानकारी दिए ।

उनले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गरी तयारी भइरहेको र यसपटक राखेपले प्रस्ताव गरेका ३६ मध्य १८ खेलमा सहभागी हुने बताएका छन् ।

उनले भने, ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ । राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौं ।’

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा पनि सहभागिता जनाउँदै छ । योपटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।

क्रिकेटको टिम इंग्ल्यान्ड (यूके)बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र यूकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउनेछ । यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बुझिएको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् । खेलकुदका लागि एनआरएनएका तीनजना युवा उपाध्यक्ष हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरु अब्दुल बसिद र रवीन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य-सचिव गिरीले बताए ।

प्रतिक्रिया