आइतबार, जेठ ६, २०८१

नेपालद्वारा टेस्ट राष्ट्र जिम्बावे एक दिवसीय सिरिजमा पराजित

नेपालखोज २०७९ वैशाख २६ गते २१:००

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक टेस्ट नेशन्स राष्ट्रलाई एक दिवसीय सिरिजमा पराजित गरेको छ । ३ म्याचको एक दिवसीयमा आज जिम्बावे ‘ए’विरुद्ध ६ विकेटको जित दर्ता गर्दै सिरिज पनि २-१ ले आफ्नो पक्षमा पारेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाका कारण ३३ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो । जवाफमा नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । नेपाललाई जिताउनका लागि दीपेन्द्रसिंह ऐरीले ६० तथा विनोद भण्डारीले २० रनको नटआउट पारि खेले। त्यसअघि कुशल भुर्तेल र आशिफ शेखले बलियो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई जित तर्फ अग्रसर बनाएका थिए।भुर्तेल ८४ रनमा आउट हुँदा शेख २९ रन बनाएर पभेलियन फर्किए । रोहित पौडेल भने खाता नै नखोली आउट भएका थिए । ब्रान्डन मभुटाले ३ विकेट लिए।

जिम्बावे ‘ए’का लागि ओपनर टाडिवान्से मरुमानीले ५० रनको अर्धशतकीय पारि खेल्दा इनोसेन्ट काया १२ रन बनाएर पेभेलियन फर्केएिका थिए । यस्तै, कुद्जाई मौञ्जेले ३९ रन बनाएर आउट हुँदा रोय कायाले ३६को योगदान गरे। कप्तान टोनी मुनयोङ्गा २४ रनमा आउट भएका थिए।

बलिङतर्फ नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभरमा ४३ रन खर्चेर १ मेडन राखेका थिए। सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिन पुगे।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट अघि अभ्यासका रुपमा रहेको यो सिरिज अघि नेपालले टी-ट्वान्टी सिरिज भने १-१ को बराबरी गरेको थियो ।

प्रतिक्रिया