आइतबार, जेठ ६, २०८१

आरोप पुष्टि गर्न वर्तमान एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

नेपालखोज २०७९ वैशाख २८ गते १८:४२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

ललितपुर स्थित एक होटलमा आज पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन् । थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनै पनि सम्बन्ध नरहेको समेत बताए । पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टेलिभिजनमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियोमार्फत प्रस्तुत गरेका थिए । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् ।

पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए । लामो समय फुटबलमा विताएको र ब्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पिडा भएको सुनाए । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे ।

जसको कारण आफुले फिफाको प्रतिबन्ध भोगेको बताए । थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो । पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो ।

प्रतिक्रिया