बिहीबार, वैशाख १३, २०८१

नेपालमा स्थानीय निर्वाचन !

सुनील उलक २०७९ वैशाख ३१ गते ९:०९

नेपालमा पहिलो प्रत्यक्ष निर्वाचनको चर्चा गर्नु पर्दा वि.सं. २००४ सालको काठमाडौ म्युनिसिपलिटीको निर्वाचन नै हो । यसभन्दा अगाडि प्रत्यक्ष निर्वाचनहरु भएका थिएनन् । लिच्छविकालमा गाउँ वा सानो इलाकाहरुमा पाञ्चालीहरु बनेका हुने गर्थ्यो । हरेक ग्राम पाञ्चालीका सदस्यहरु प्रत्येक घरका घरमूली नै हुन्थे । यसका प्रमुखहरु पाञ्चालिक वा प्रजापञ्चहरु हुने गर्दथे । यी पाञ्चालीकहरुले नै स्थानीय सामाजिक कामहरु गर्दथे । कतिपय ठाउँहरुमा पाञ्चालीकहरु बलिया भएर साना साना छुट्टै राज्यमा नै परिणत पनि भए ।

वि.सं. २००४ सालको प्रत्यक्ष निर्वाचन अगाडि यसका केही पूर्वाधारहरु तयार भएका थिए । वि.सं. १९८७ सालमा राणा प्रधानमन्त्री श्री ३ भीमशमशेरको समयमा पञ्चायत स्थापना गरिएको थियो । उपत्यकाबाहिर पनि गोश्वारा खुलेका ठाउँमा गोश्वारा तथा गोश्वारा नभएको ठाउँमा मौजाहरुमा चारपाँच गाउँ मिलाएर पञ्चायत गठन गरिएको थियो । साथै पञ्चायतका पञ्च छान्नुका लागि पनि केही प्रवाधानहरु राखिएका थिए । पञ्च हुनका लागि सम्बन्धित इलाकाको पञ्च हुन सो स्थानमा घरद्वार भएका हुनुपर्ने वा सो स्थानमा जिम्मिदार तथा तालुकदार भइ रहेको हुनुपर्ने । असल नियत र चालचलन भएको हुनुपर्ने । पञ्चायतको काम गर्ने ल्याकत भएका पुरुषहरु । तर २५ वर्ष उमेर नपुगेका, घुसखोरी, चोरी, डकैटी, किर्ते, जालसाजीका कसुरदार हुन नहुने, पञ्च चयन गर्न गाउँ वा मौजामा १६ वर्ष उमेर पुगेका पुरुषहरु जम्मा गरि चुन्ने र मञ्जुरी कागजमा सहि छाप गराइ पठाउने । मुख्यपञ्चका हकमा भने सो मौजा वा गाउँका तालुकदार वा जिमिदार नै हुन् । सो नभएमा रैतीले छानेर बडाहाकिमले मुकरर गरेका मुख्य पञ्च बन्न पाउने प्रावधान थियो ।

No description available.

पहिलोपटक स्थानीय निकायको निर्वाचनको घोषणा २००४ साल जेठ ३ गते श्री ३ पद्मशमशेरको घोषणाबाट मुलुकभर निर्वाचित नगरपालिका खडा गर्ने र त्यसका प्रतिनिधी चयनका लागि मतदान गर्ने घोषणा भएको थियो । जसअनुसार काठमाडौ म्यूनिसिपलिटीको निर्वाचन वि.सं. २००४ साल जेठ २९ गते निर्वाचन भएको थियो । यस निर्वाचनको केही अनौठा विशेषताहरु थिए । काठमाडौ सफाइ अड्डाको रुपमा रहेको कार्यलय नै काठमाडौ म्यूनिसिपलिटी बनाइएको थियो । साथै यस निर्वाचनमा केवल पुरुष मतदाताहरुले मात्र भोट हाल्न पाएका थिए । साथै एकदिन अगाडि २१ वर्ष उमेर पुगेका पुरुषहरुका संख्याको आधारमा मतपत्र घर घर पुर्याइएको थियो । त्यतिबेला २१ वडामा बिभाजित नगरपालिका पूर्वमा बिशालनगर, टंगाल, ज्ञानेश्वर, नक्साल र डिल्लिबजार रहेको थियो भने पश्चिममा विष्णुमती वारी भीमसेनस्थान, कङ्केश्वरी, कालधारा रहेको थियो । उत्तरमा विष्णुमती पारी पकनाजोल, ठमेल, लाजिम्पाट, गैह्रीधारा रहेको थियो । साथै दक्षिणमा बागमती वारी कुरीया गाँउ, बागबजार, त्रिपुरेश्वर र पचलीसम्म रहेको थियो । यसभित्रको क्षेत्रलाई काठमाडौ म्युनिसिपलिटी घोषणा गरिएको थियो ।

No description available.

१३,५५३ घरधुरी रहेको काठमाडौ म्युनिसिपलिटीमा ६८,११८ मतदाता रहेका थिए । २१ वडामा वडा नं. ५, ९, १० र ११ निर्विरोध भएको थियो । बाँकी १७ वडामा २२ मतदान केन्द्र राखिएको थियो । दिनको ११ बजे देखि ३ बजेसम्म मात्र मतदान गर्न पाउने ब्यबस्था गरिएको थियो । उम्मेदवारलाई कुनै चिह्न नदिइ रङ दिइएको हुँदा त्यहि रङको ढ्वाङमा मत खसाल्नुपर्दथ्यो । मतदान केन्द्र खुला भएको हुँदा कसले कसलाई मत दिए भन्ने सबैले देख्न पाउँदथे ।

निर्वाचित २१ र मनोनित १० गरि ३१ सदस्यको नगरपालिका बोर्ड गठन भएको थियो । तर कार्यशैलीमा मतभेद हुँदा १६ निर्वाचित सदस्यले वि.सं. २००४ चैत २८ मा राजिनामा दिएका थिए । यसको अर्को एक महिना पछि बाकी रहेका मनोनित सदस्य मध्यका ६ जनाले पनि राजिनामा दिए । त्यस्तै भक्तपुर र ललितपुर नगरपालिकाको निर्वाचन पनि वि.सं. २००४ सालमा नै सम्पन्न भएको थियो । भक्तपुरमा १० र ललितपुरमा १२ निर्वाचित तथा ४-४ जना मनोनित सदस्य रहेको थियो ।

No description available.

वि.सं. २००७ सालको परिवर्तन पछि वि.सं. २०१० भदौ १७ गते दोश्रो पटक काठमाडौमा निर्वाचन भयो । यसपटक भने म्यूनसिपलिटीको नाम नगरपालिका भइसकेको थियो । यस पटक २१ बाट १८ वटामात्र वडा कायम गरिएको थियो । यस दोश्रो निर्वाचनमा भने उम्मेदवारले निर्वाचन चिन्ह आफै रोज्न पाउने ब्यबस्था गरिएको थियो । यस पटकको निर्वाचनमा १५ नं वडामा निर्विरोध भएको थियो भने अन्य १७ वडामा ५६ मतदान केन्द्र राखिएको थियो । साथै निर्वाचनमा गोप्य मतदानको ब्यबस्था गरिएको थियो । यसपटक भने मतदाता संख्या घटेर ५६ हजार मात्र हुनपुगेको थियो । महिला पनि निर्वाचनमा भाग लिन पाएको भए पनि मतदाता संख्या कम हुनुको कारण भने थाहापाउन सकिएन । साथै यस पटक महिला उम्मेदवार पनि रहेको थियो । काठमाडौ वडा नं ८ बाट साधनादेवीले खसेको ४११३ मत मध्य २४५५ मत ल्याइ विजयी भएकी थिइन् । यो नै नेपालको इतिहासको पहिलो महिला जनप्रतिनिधीको विजय थियो ।

No description available.

१८ निर्वाचित र ४ मनोनित गरि २२ जनाको नगरपालिका बोर्डमा प्रमुखका रुपमा जनकमान श्रेष्ठ र उपप्रमुखमा प्रयागराज सिंह सुवाल चुनिएका थिए । त्यस्तै ललितपुर नगरपालिकाको १० वडामा २, ५, ७ र ८ मा निर्विरोध भएको थियो । बाँकी ६ वटा वडामा वि.सं. २००९ भदौ २९ गते निर्वाचन भएको थियो । यहाँको प्रमुखको निर्वाचनमा १९ सदस्यमा १ अनुपस्थित भएको र ३ उम्मेदवार भइ तीनजनाले नै ३-३ मत पाइ बराबरी भएको थियो । दोश्रो पटक पुन मतदानमा २ उम्मेदवार मात्र सहभागी हुँदा ५ र ४ मत पाइ प्रमुखमा नरेन्द्रमान जोशी बिजयी भएका थिए । उपप्रमुखमा भने सुरेन्द्रशमशेर निर्विरोध भएको थियो ।

यसैगरी भक्तपुरमा वि.सं. २००९ असोज २६ गते निर्वाचन भएको थियो भने वीरगन्जमा वि.सं. २०१० वैशाखमा भएको थियो । विराटनगरमा पनि वि.सं. २०१० मा नै सम्पन्न भएको थियो ।

प्रत्येक ४ वर्षमा हुने नगरपालिकाहरुको निर्वाचन तेस्रोपटक भने वि.सं. २०१४ सालमा भएको थियो । वि.सं. २०१४ माघ ७ गते १८ वडामा नै निर्वाचन भएको थियो । यस पटक दलिय हिसावले निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । जस अनुसार सभापतिमा नेपाली कांग्रेसका प्रयागराज सिंह सुवाल विजयी भए भने उपसभापतीमा नेपाल कम्युनिष्ट पार्टीका कृष्णलाल श्रेष्ठ विजयी भएका थिए । यसै गरि ललितपुर नगरपालिकामा माघ २ गते वीरगन्जमा फागुन ३० गते भद्रपुरमा पनि फागुनमा तानसेनमा साउनमा विराटनगरमा मंसिर ११ गते र भक्तपुरमा कात्तिक २३ गते निर्वाचन भएको थियो ।

No description available.

पोखराको हकमा भने पोखरा नगरपालिकाको गठन वि.सं. २०१६ जेठ ९ गते गरेको थियो । यसको सीमा क्षेत्रको रुपमा भने पूर्वमा काँहुको फेद हुदै काँहुखोला काँहुकुलो हुदै ढुङ्गेसाँघु र काजीपोखरी । पश्चिममा पार्दी बाँध देखि फेवाको पल्लो किनार हुदै वनपालेको नाके धारको फेदी हुँदै बुलौदी फेदीको किनारै किनार धारापानीको फेदी र ढुङ्गेखोला मर्केनी डाँडाको फेदी हुदै फिर्के कुलाको बाँधसम्म । उत्तरमा फिर्के कुला बाँधदेखि ब्यासीको खिर्रापोखरी कास्की जाने डाँडो र मिरुवाको किनारै किनार ढुङ्गेखानीको पहरो पुरानो टुँडिखेल हुदै कालीखोला र सेतीको दोभान । दक्षिणमा काजीपोखरी देखि चोरसाँघु हुदै सिधै पश्चिम पार्दीबाँध सम्म ।

यसरी पोखरा नगरपालिका घोषणा भएपछि यस नगरपालिकाका प्रमुखमा पहिलो पटक यहाँका समाजसेवी शिवबहादुर थापा नियुक्त भएका थिए । सो पदमा वि.सं. २०१८ सालसम्म नै रहे ।

त्यस्तै वि.सं. २०१६ कार्तिक १२ मा खस्यौली नगरपालिका गठन भयो । वि.सं. २०१६ कार्तिक १८ गते राजविराज नगरपालिका बन्यो । वि.सं. २०१७ बैशाख १ गते इलाम नगरपालिका बन्यो । वि.सं. २०१७ जेठ १३ गते जनकपुर नगरपालिका बन्यो । वि.सं. २०१७ भदौ २१ मा तौलिहवा नगरपालिका बन्यो । वि.सं. २०१७ को कार्तिकमा धरान नगरपालिका गठन भयो । वि.सं. २०१७ मंसिर २० मा भोजपुर खिकामाछा बजार नगरपालिका गठन भएको थियो । यसरी क्रमश नगरपालिकाहरुको संख्या बढ्दै गयो ।

यसै बिच वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गराइ पञ्चायती ब्यबस्थाको शुभारम्भ गराइदिए । जसले गर्दा नगरपालिकाहरु स्वतह नगर पञ्चायत भए । वि.सं. २०१८ माघ महिना देखि गाँउपञ्चायत गठनको प्रक्रिया अगाडि बढ्यो । वि.सं. २०१८ फागुन ७ गते गाँउपञ्चायतको निर्वाचनको घोषणा भयो । २१ वर्ष उमेर पुगेका तथा कम्तिमा एक वर्ष सो गाँउपञ्चायतमा बसेकाले मात्र सदस्यताको लागि उम्मेदवारी दिन पाउने नियम बनाइएको थियो । ९ सदस्य र १ प्रधानपञ्च र १ उपप्रधानपञ्च रहने गाउँपालिका ९ वडामा बिभाजित गरिएको थियो ।

No description available.

यस निर्वाचनमा गाँउपञ्चायतका सदस्यहरु हात उठाएरै वा सहमतीमा चुनिएका थिए भने प्रधानपञ्च र उपप्रधानपञ्चको भने मतपत्र बनाइएको थियो । तर छाप लगाउने ब्यबस्था गरिएको थिएन । मन परेको प्रधानपञ्च र उपप्रधानपञ्चको नामको अगाडि ठिक चिन्ह लगाउने ब्यबस्था गरिएको थियो ।

दुइ वर्ष अवधी तोकिएको हुँदा वि.सं. २०२१ वैशाख १ देखि जेठ १५ सम्म ३,५४३ गाँउपञ्चायतको उपनिर्वाचन भएको थियो । यसरी वि.सं. २०१८ सालदेखि वि.सं. २०३१ सालसम्म गाँउपञ्चायतको निर्वाचन चरणबद्ध रुपमा हुँदा निर्वाचन आयोग वर्ष भरि नै ब्यस्त रहने गरेको थियो ।

No description available.

वि.सं. २०१९ सालसम्म देशमा १४ नगरपञ्चायतको घोषणा भइसकेको थियो । वि.सं. २०१९ को जेठमा सबै नगरपञ्चायतको निर्वाचन गर्ने लक्ष राखिए पनि जेठ महिनामा काठमाडौ उपत्यकाका तीन सहरमा मात्र निर्वाचन हुन सक्यो । साथै वि.सं. २०१९ सालको माघ देखि फागुन भित्र जिल्ला पञ्चायतको पनि निर्वाचन भएको थियो । ९ सदस्य र सभापती तथा उपसभापती गरि ११ जनाको जिल्ला पञ्चायत समिती गठन गरिएको थियो । जिल्ला पञ्चायतका सदस्यहरुको निर्वाचन भने जिल्ला भित्रका गाउँपञ्चायत र नगरपञ्चायतका सदस्यहरुबाट मतदान प्रक्रियाबाट चुनिने ब्यबस्था गरिएको थियो । अञ्चल पञ्चायतमा भने जिल्ला पञ्चायतका सदस्यहरुबाट चुनिएका ११ सदस्यको कार्यकारिणी रहने ब्यबस्था गरिएको थियो । साथै अञ्चलस्तरिय महिला संगठनबाट तीन जना, किसान संगठनबाट चार जना, युवक संगठनबाट चार जना, मजदूर संगठनबाट दुइजना, भूतपूर्व सैनिक संगठनबाट दुइ जना तथा ब्याचलर उतिर्ण बुद्धिजीविबाट चार जना मनोनित गरि यिनै सदस्यबाट सभापती र उपसभापतीको निर्वाचन गरि चयन गर्ने गरिन्थ्यो । अञ्चल पञ्चायतको निर्वाचन वि.सं. २०२० बैशाखमा शुरु भइ असारसम्म सम्पन्न भएको थियो । तर पछि अञ्चल पञ्चायत वि.सं. २०१९ को ऐन नै खारिज भए पछि अञ्चल पञ्चायत पनि स्वतह खारेज भयो ।

वि.सं. २०३२ सालमा पून गाँउ पञ्चायतको निर्वाचनको घोषणा गरियो । १४ अञ्चललाई चार समूहमा बाँडी चार तहमा निर्वाचनको घोषणा गरियो । वि.सं. २०३२ सालमा पहिलो समूह अन्तर्गत सगरमाथा, लुम्बिनी र सेती अञ्चलका गाँउ र नगर पञ्चायतको निर्वाचन भएको थियो । वि.सं. २०३३ माघ २९ देखि दोश्रो समूह अन्तर्गत भेरी, गण्डकी, बागमती र मेची अञ्चलमा रहेका गाँउ र नगर पञ्चायतको निर्वाचन भएको थियो । वि.सं. २०३४ मा तेश्रो समूह अन्तर्गत कर्णाली, महाकाली र जनकपुर अञ्चलमा रहेका गाँउ र नगर पञ्चायतको निर्वाचन भएको थियो । अन्तमा वि.सं. २०३५ माघ २९ देखि चौथो समूह अन्तर्गतका कोशी, नारायणी, धवलागिरी र राप्ती अञ्चलका गाँउ र नगर पञ्चायतको निर्वाचन भएको थियो ।

यो समयसम्म गाँउ फर्क राष्ट्रिय अभियानको गठन भइसकेको हुँदा उम्मेदवार हुन गाँउ फर्कको अनुमोदन अनिवार्य गरिएको थियो । यस निर्वाचनमा उम्मेदवार रङ्ग चयन गर्न पाउने र सो रङ्गको बुथमा मत खसाली बिजयी गणना गरिने ब्यबस्था गरिएको थियो । तर चौथो चरणको निर्वाचनमा आइपुग्दा भने मतपत्रमा नै छाप लगाउने ब्यबस्थाको शुरुवात भयो । यसैगरि वि.सं. २०३५ को फागुन चैत्रमा जिल्ला पञ्चायतको पनि मतदान प्रक्रिया पनि चार समूहमा पुरा गरिएको थियो ।

वि.सं. २०३४ सालमा स्थानीय निकाय निर्वाचनको अध्यादेशमा परिवर्तन भएको कारणले सभापती र उपसभापतीको निर्वाचन प्रक्रियामा केही परिवर्तन भएको थियो ।

वि.सं. २०३९ सालमा अधिराज्यभरका ४,०२२ गाँउपञ्चायतहरु र २९ नगरपञ्चायतहरुको निर्वाचनका लागि क र ख समूहमा बिभाजित गराइ वि.सं. २०३९ बैशाख २८ र २९ मा पहिलो समूह र जेठ ३ र ४ मा दोश्रो समूह अन्तर्गतको निर्वाचन भएको थियो । यसका साथै जिल्ला पञ्चायतको निर्वाचन पनि वि.सं. २०३९ असार २ गते सम्पन्न भएको थियो । यस निर्वाचनमा ४,०२२ गाँउपञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्च, ३६,१९८ गाँउपञ्चायत सदस्य, १,४४,७९२ गाउँसभा सदस्य, २९ नगरपञ्चायतको प्रधान र उपप्रधानपञ्च, ४१३ नगरपञ्चायत सदस्य, १,६५२ नगरसभा सदस्यको निर्वाचन भएको थियो । यसै गरि ७५ जिल्ला पञ्चायतको सभापती र उपसभापती, ६७५ जिल्लापञ्चायत सदस्य १३८, जिल्ला सभासदको पनि निर्वाचन भएको थियो ।

पञ्चायतकालको अन्तिम निर्वाचनको रुपमा भने वि.सं. २०४३ चैत्र ७ र १० मा दुइ चरणमा सम्पूर्ण गाउँपञ्चायत र नगरपञ्चायतको निर्वाचन भएको थियो । यस निर्वाचनमा हिमाली भेगका २०१ गाउँपञ्चायतमा भने बैशाखमा मतदान भएको थियो । वि.सं. २०४३ सालको निर्वाचनमा गाउँ तथा नगर पञ्चायतका १,९१,०६२ जनप्रतिनिधि चयन गर्नपर्ने थियो । जसमध्य ४,०१५ गाउँ पञ्चायतका १,८८,७०६ जनप्रतिनिधिको निर्वाचन गर्नुपर्ने थियो भने ३३ नगर पञ्चायतका २,३५६ जनप्रतिनिधिको निर्वाचन गर्नुपर्ने थियो । जसमा नगरपञ्चायतका प्रधान र उपप्रधानपञ्च ३३/३३ जना नगरपञ्चायत सदस्य ४५८ नगरसभा सदस्य १,८३२ गाउँपञ्चायतको प्रधान र उपप्रधानपञ्च ४,०१५/४,०१५ जना गाउँपञ्चायत सदस्य ३६,१३५ र गाउँसभाको सदस्य १,४४,५४१ जना थिए । यस निर्वाचनमा उम्मेदवार हुन कुनै पनि एक वर्गिय संगठनको सदस्यता लिएको हुनुपर्ने प्रावधान राखिएको थियो । वि.सं. २०४४ बैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन गरिएको थियो ।

वि.सं. २०४५-४६ सालको जनआन्दोलनका कारण पञ्चायती ब्यबस्थाको अन्त्य भइ बहुदलिय ब्यबस्था कायम भए पछि देशमा पञ्चायत शब्द नै हराउन वा मेटिन थाले । जस अनुसार गाउँपञ्चायतहरु गाउँ बिकास समिति भए । ४,०१५ गाउँपञ्चायतमा फेरबदल भइ ३,९९५ गाउँ बिकास समिति बने । साथै ३३ नगरपञ्चायत भने ३६ नगरपालिका बने ।

वि.सं. २०४९ जेठ १५ गते पहिलो चरणमा २,०३० गाउँ बिकास समिति र ११ नगरपालिकाको निर्वाचन तथा जेठ १८ गते दोश्रो चरणमा १,९६५ गाउँ बिकास समिति र २५ नगरपालिकामा निर्वाचन गरिएको थियो । यसरी समुच्चमा गाउँ बिकास समिति अध्यक्ष र उपाध्यक्ष ३,९९५/३,९९५ सदस्यहरु ४३,९४५ तथा नगरपालिका प्रमुख र उपप्रमुख ३६/३६ र ५३१ नगरपालिका सदस्यहरु निर्वाचित भएका थिए । यसपटक बिभिन्न पदका लागि करिव ३,५०,००० जनाले उम्मेदवारी दिएका थिए । यस निर्वाचनमा पहिलो पटक १८ वर्ष उमेर पुगेका बालिगहरुले पनि मताधिकार प्राप्त गरेका थिए । जसले गर्दा नयाँ युवाहरुमा बढी उत्साह देखिएको थियो । राजनैतिक दलका रुपमा सहभागी तथा स्वतन्त्र उम्मेदवारहरुमा यस प्रकारको नतिजा प्रकाशित भएको थियो । नगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस २२ प्रमुख २१ उपप्रमुख तथा २८८ सदस्यमा विजयी भएका थिए । नेकपा एमाले ६ प्रमुखमा ५ उपप्रमुखमा तथा १०८ सदस्यमा विजयी भएका थिए । पञ्चायती ब्यबस्थाको प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिएका राप्रपाले भने केवल २ प्रमुख २ उपप्रमुख तथा ५१ सदस्यमा विजयी भएका थिए । त्यस्तै तराइमा आधारित सद्धावनाले १ प्रमुखमा ३ उपप्रमुखमा तथा १४ सदस्यमा विजयी भएका थिए । संयुक्त जनमोर्चाले पनि १ उपप्रमुखमा र ७ सदस्यमा विजयी भएका थिए । स्वतन्त्र उम्मेदवारबाट पनि ५ प्रमुखमा ४ उपप्रमुखमा तथा ५३ सदस्यमा विजयी भएका थिए ।

त्यसैगरी जिल्ला पञ्चायतको नामाकरण पनि बहुदलीय ब्यवस्थामा जिल्ला बिकास समिति रहन गयो । यसको निर्वाचनमा पनि वि.सं. २०४९ असार १३ गते भएको थियो । ७५/७५ जिल्ला बिकास समिति सभापती र उपसभापती तथा ९२७ जिल्ला बिकास समिति सदस्यहरुको निर्वाचन गरिएको थियो ।

No description available.

वि.सं. २०५४ सालमा नेपाल सरकारले गाउँ बिकास समिति र नगरपालिकाहरुमा बृहत फेरबदल गरेको थियो । जस अनुसार ३,९१३ गाउँ बिकास समिति तथा ५८ नगरपालिका गठन गरिएको थियो । ५८ नगरपालिका मध्य १ महानगरपालिका, ३ उपमहानगरपालिका तथा ५४ नगरपालिकाको गठन गरिएको थियो । २,०५४ जेठ ४ गते पहिलो चरणको निर्वाचनमा १,८२१ गाउँ बिकास समिति, २३ नगरपालिका तथा १ उपमहानगरपालिकाको निर्वाचन तय गरिएको थियो भने जेठ १३ मा दोश्रो चरणको निर्वाचनमा २,०९१ गाउँ बिकास समिति ३१ नगरपालिका २ उपमहानगरपालिका तथा १ महानगरपालिकामा निर्वाचन तय गरिएको थियो । यसपटक मतदाता संख्यमा पनि उल्लेख्य वृद्धि भएको थियो । कुल मतदाता संख्या १,२५,३८,२७३ रहेको थियो ।

यस निर्वाचनको केही समयपछि नै असार २७ गते जिल्ला बिकास समितिको निर्वाचन भएको थियो । विविध कारणले गर्दा हुन नसकेको रुकुम जिल्ला बाहेक ७४ जिल्लामा निर्वाचन भएको थियो ।

वि.सं. २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रबाट शासनसत्ता आफ्नो हातमा लिए पछि वि.सं. २०६२ माघ २६ मा देशमा रहेको ५८ नगरपालिकाहरुको निर्वाचन एकसाथ गर्ने घोषणा भयो । तर राजनैतिक दलहरुले यसको बिरोध गर्दै बहिष्कारको घोषणा गरे । निर्धारित मितिमा नै निर्वाचन हुने भयो । कतिपय प्रमुख राजनैतिक दलहरुले बहिष्कारको घोषणा गरे पनि विभिन्न २२ दलको प्रतिनिधित्व गर्दै निर्वाचनमा उम्मेदवारी दिएका थिए । २२ दलहरुले प्रमुखमा १७६, उपप्रमुखमा १३९, वडाध्यक्षमा ९७९, वडासदस्यमा १,२६७ तथा महिला सदस्यमा ४०६ गरि २,९६७ जनाको उम्मेदवारी दिएका थिए । त्यस्तै स्वतन्त्र रुपमा १,३३९ जनाको उम्मेदवारी परेको थियो ।

२२ नगरपालिकामा निर्विरोध चयन भए पछि बाकी ३६ नगरपालिकामा मतदान भयो । यस निर्वाचनमा ४३ जिल्लामा रहेका ५८ नगरपालिकाहरुमा ५८/५८ नगरप्रमुख र उपप्रमुख ८०६ वडाध्यक्ष २,४१८ वडासदस्य र ८०६ महिला प्रतिनिधि वडासदस्यहरु निर्वाचित भएका थिए । कुल मतदाता संख्या १९,४२,९९९ मतदाता ५८ नगरपालिकामा रहेका थिए ।

६२-६३ को सफल आन्दोलनपछि यो निर्वाचन नै बदर गरि यी पदहरु रिक्त बनाइयो ।

वि.सं. २०६२ माघ २६ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा भएको स्थानीय निकायको निर्वाचनलाई बदर गरिएको परिप्रेक्षमा स्थानीय निकाय करिव २० वर्ष जनप्रतिनिधि बिहिन रह्यो । लामो अवधी सरकारी कर्मचारी अन्तर्गत स्थानीय निकायका कार्यसम्पादन हुँदा कतिपय स्थानीय बिकासका कार्य सबै रोकिए । अति आबश्यक प्रशासनिक कामहरु मात्र सरकारी कर्मचारीहरुबाट पुरा गरिएका थिए । यसरी लामो समय स्थानीय निकाय जनप्रतिनिधि बिहिन रहेको हुँदा वि.सं. २०७४ सालमा तीन चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा भयो । स्थानीय स्तरका राजनैतिक नेताहरुको दौडधुप शुरु भयो । कसले कसरी दलको टिकट हासिल गर्न सकिन्छ भन्दै सामदाम तर्फ लागे । कति ठूला नेताका पछि खुसामद गर्न लागे भने कतिपय नजराना बुझाउन पनि लागे । दललाई आर्थिक सहयोग गर्ने हैसियत भएका वा दलका प्रमुख नेतालाई आर्थिक सहयोग गर्न सक्नेहरुको हावी रह्यो । यसको साथै निर्वाचनमा बिजय हासिल गर्नसमेत मोटो रकम खर्च गर्न सक्ने हैसियत समेत हुनुपर्दथ्यो । यदाकदा विरलै मात्र स्वच्छ छवि भएकालाई जनताले बिश्वासका साथ मत दिन्थे । अधिकांश नोटको बलमा भोट बट्ल्न सफल हुन्थे ।

सरकारको घोषणाअनुसार वि.सं. २०७४ वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ असार १४ गते प्रदेश नं १, ५ र ७ तथा असोज २ गते मधेस प्रदेशमा गरी तीन चरणमा स्थानीय निकायको निर्वाचन सम्पन भयो । सरकारको घोषणा गाउँ गाउँमा सिंहदरवार भन्दै ५७ राजनैतिक दलहरुले निर्वाचनमा भाग लिएका थिए । जसमा केवल १८ राजनैतिक दलहरुले आफ्नो प्रतिनिधित्व गर्न जनताले मत दिए । अन्य माथि जनताको विश्वास र साथ रहेन । यस निर्वाचनमा २३३ स्वतन्त्र सहित ३५,०४१ जनप्रतिनिधिहरुले जनताको विश्वास जित्न सफल भए । यस निर्वाचनको परिणाममा नेकपा (एमाले)ले २९४ मेयर, ३३१ उपमेयर, २,५६० वडाध्यक्ष तथा १०,९१२ वडासदस्यमा विजय हासिल गरेका थिए । त्यस्तै नेपाली कांग्रेसले २६६ मेयर, २२३ उपमेयर, २,२८६ वडाध्यक्ष तथा ८,६७९ वडासदस्यमा विजय हासिल गरेका थिए । नेकपा (माओवादी)ले १०६ मेयर, १११ उपमेयर, १,१०२ वडाध्यक्ष तथा ४,१२३ वडासदस्यमा विजय हासिल गरेका थिए । त्यस्तै स्वतन्त्र सहित अन्य ८ दलको प्रतिनिधित्व मेयर र उपमेयरमा रहेको थियो ।

स्थानीय तह वि.सं. २०७९ को निर्वाचनमा ३५,२२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस निर्वाचनमा १,७७,३३,७२३ मतदाता आफ्नो मत दिन योग्य छन् । समय र परिस्थितिले करिब दुइतिहाइ मतदाताले आफ्नो मत दिने आशा गर्न सकिन्छ । यस निर्वाचनमा २९३ नगरप्रमुख र उपप्रमुखका लागि ३,२३८ र १,९६४ प्रतिस्पर्धी छन् भने ४६० गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि ३,०९२ र २,१६३ प्रतिस्पर्धी रहेका छन् । त्यस्तै ६,७४३ वडाध्यक्षहरुका लागि ३२,४९५ ले उम्मेद्‌वारी दिएका छन् । ६,७४३ महिला वडासदस्यमा २५,६०० महिलाहरुको पनि उम्मेदवारी परेको छ । १३,४८६ खुला वडासदस्यका लागि ५३,१७४ प्रतिस्पर्धी उभिएका छन् । ६७४३ दलित वडासदस्यमा भने २३२८५ ले उम्मेदवारी दिएका छन् । नतिजा आउने क्रम भने सुरु भइसकेको छ ।

No description available.

प्रतिक्रिया