बिहीबार, वैशाख २५, २०८२

वीरेन्द्रनगरमा कांग्रेसलाई झड्का, मेयरमा एमालेकी मोहनमाया अगाडि

नेपालखोज २०७९ जेठ ३ गते १६:२३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्का एमाले उम्मेद्वारभन्दा पछि परेका छन् । लामो समयसम्म अग्रता हासिल गरेका खड्का पछिल्लो मतपरिणामअनुसार एमाले उम्मेद्वारभन्दा पछि परेका हुन् ।

यो समाचार तयार पार्दा एमालेबाट मेयर पदकी उम्मेद्वार मोहनमाया ढकालले ८६९६ मत प्राप्त गरी अग्रस्थान कायम गरेकी छन् । नेपाली कांग्रेका उपेन्द्रबहादुर खड्काले ८,६८० मत प्राप्त गरेका छन् । एमालेकी मोहनमाया उपेन्द्रबहादुरभन्दा १६ मतान्तारले अघि छन् ।

यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले ४,२२४ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीकी मेयर पदकी उम्मेद्वार धनकुमारी जीसीले २४२ मत प्राप्त गरेकी छन । यस्तै उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले ११,१२१ मत प्राप्त गरेका छन् ।

माओवादीबाट उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले ६,३७३ मत प्राप्त गरेकी छन् । उपमेयरमा राप्रपाकी लक्ष्मीकुमारी सार्कीले १,३७३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा स्वतन्त्रबाट अनिल ढकालले ४१८ र नेकपा एसका वीरबहादुर राउतले ४१५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया