सोमबार, वैशाख २९, २०८२

के सम्भावित युद्ध अपराधबारे अनुसन्धान हुन लागेको हो ?

नेपालखोज २०७९ जेठ ४ गते ८:२५

काठमाडाैं । रुसले अतिक्रमण गरेको युक्रेनमा युद्ध अपराध भएको आशंकामा अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पहलहरू बढ्दो क्रममा रहेको देखिएको छ ।

दुई फोरेन्सिक विज्ञसहित ४२ जना अनुसन्धानकर्तालाई युक्रेनतर्फ पठाइएको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले जनाएको छ ।

आईसीसीका प्रमुख अभियोजनकर्ता करिम खानका अनुसार अनुसन्धानका लागि आईसीसीले कुनै ठाउँमा यति ठूलो टोली पठाएको यो पहिलो पटक हो ।

युक्रेनमा युद्ध अपराध भएका सम्भावित स्थानबारे गत महिनादेखि अध्ययन गरिरहेका फ्रेन्च अनुसन्धानकर्ताहरूसँग आईसीसीको टोलीले सहकार्य गर्नेछ ।

युद्ध अपराधको विषयलाई लिएर अर्कोतर्फ संयुक्त राज्य अमेरिकाले पनि दबाव बढाइरहेको देखिएको छ । अमेरिकी विदेश मन्त्रालयले रुसी फौजबाट भएका ज्यादतीका घटनाबारे तथ्य सङ्कलन तथा विश्लेषण गर्नका लागि एउटा नयाँ कार्यक्रम घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई जबाफदेही बनाइ छोड्ने वाचा गरेका छन् ।

रुसी फौजको बमबारीका कारण आफ्ना दशौँ हजार सर्वसाधारण मारिएको र शहरका सडकहरूमा शवहरू अलपत्र परिरहेको युक्रेनले बताउने गरेको छ ।

तर युद्धका क्रममा सर्वसाधारण नागरिकलाई निशाना बनाएको कुरा रुसले निरन्तर अस्वीकार गर्दै आएको छ । यसैबीच, घेराबन्दीमा रहेको युक्रेनको बन्दरगाह शहर मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानाबाट उद्धार गरिएको थप युक्रेनी सैनिकलाई रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा बन्दीकेन्द्रमा लगिएको छ ।

रुसी फौजको सुरक्षामा उनीहरूलाई समूहमा बन्दीकेन्द्र लगिएको विवरणमा जनाइएको छ । मंगलबार थप कति जना युक्रेनी सैनिकको उद्धार गरिएको हो भन्नेबारे चाहिँ स्पष्ट पारिएको छैन । यसअघि सोमबार सोही स्टील कारखानाबाट २६४ जना युक्रेनी सैनिकलाई उद्धार गरिएको थियो ।

मस्कोले त्यसलाई युक्रेनी फौजको आत्मसमर्पणको रूपमा व्याख्या गरिरहेको छ । युक्रेनी अधिकारीहरूले नियन्त्रणमा लिइएका सैनिक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका छन् । बीबीसी

प्रतिक्रिया