मंगलबार, वैशाख ११, २०८१

बसन्त चौधरीलगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

नेपालखोज २०७९ जेठ ४ गते १६:३५

काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो ।

गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६/७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वको नाम छनौट गरेको छ । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिने गुठीले जनाएको छ ।

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम चयन भएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनेछिन् । २०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत हुने गुठीले जनाएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार पुरस्कारहरुको वितरण २०७९ असार २६ गतेका दिन विशेष समारोहबीच गरिनेछ । सो दिन गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्म मिति पनि हो ।

प्रतिक्रिया