सोमबार, वैशाख १७, २०८१

परम्परागत संस्कृति र अबको रीति

अम्बिका शर्मा २०७८ कार्तिक १४ गते ११:१९

विवेकशील मानवले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गर्छ । आफ्नो क्षमताले गरेका निर्माण वा रचना समाजमा छाड्नुलाई आफु सफल भएको उदाहरण मान्न सकिन्छ । यो सफलता नै मानव–संस्कृति हो । मानव सिर्जन भौतिक र अभौतिक हुने भएकाले नै यसलाई संस्कृतिको रूपमा सम्बोधन गर्दै आइएको छ । कुनै दर्शन वा चिन्तनका अनुयायीहरूले सो दर्शन वा चिन्तन अनुरूप सिर्जना गरेका हुन्छन् । उक्त सिर्जना नै संस्कार हो, संस्कृति हो । विश्वका जुनै पनि मुलुक भित्र रहेका नागरिक यस्तै सिर्जना भित्र बाँधिएका छन् । त्यस मध्ये हामी नेपाली पनि एक हौं ।

नेपाललाई हरेक कोणबाट नियाल्दा उत्तिकै धनी मान्न सकिन्छ । अझ नेपालको संस्कार र संस्कृति त विश्वका अन्य मुलुकका लागि उदाहरण बन्छ । यहाँबाट सुरु भएका धेरै संस्कृति अन्य मुलुकमा छरिएका छन् । त्यस्ता मुलुकका नागरिक नेपालको संस्कार र संस्कृतिबाट लोभिएका छन् । यसलाई पुष्टि गर्ने बलियो आधार नेपालमा मनाइने चाड पर्व पनि छन् । नेपालीको महान पर्व वडादसैं, तिहार, छठ, चासोक तंनाम (किराँतहरूको) जस्ता पर्व नेपालमा मात्रै होइन विश्वका अन्य मुलुकमा पनि पुगेका छन् । यसो हुनुमा विश्वभर छरिएर रहेका नेपालीको मुख्य देन छ ।

नेपालको जनगणना २०६८ सालको तथ्यांक अनुसार एक सय २५ विभिन्न समुदाय तथा एक सय २३ भाषाभाषी समुदाय बसोबास गर्छन् । उनीहरूको आफ्नै भेषभूषा, भाषा, संस्कार, संस्कृति, रहनसहन र खानपान व्यावहारिक जीवन छ । त्यस्तै ती समुदायका आ–आफ्नै लोकजीवन, लोकसंगीत, लोकनाटक, लोकगाथा, परम्परागत ज्ञान सीप, लोककला, लोकसाहित्य छन् । यस भित्र हाम्रो परिचय पनि लुकेको छ । यी विविधताले हेर्दा नेपाल ज्यादै धनी देश रहेको सर्वस्वीकार्य विषय हो । पुर्खाले स्थापित गरेका यस्ता परम्परालाई हामीले जगेर्ना गर्दै आएका छौं । सबै समुदायले आफ्नो कर्तव्य भुलेका छैनौं । कुनै भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानव समूदाय वा समूदायहरूले सिर्जना तथा अवलम्वन गरेका संस्कृतिलाई त्यसै क्षेत्रको नामबाट सम्बोधन पनि गरिएको पाइन्छ । आफ्ना पहिचान स्थापित गर्न ठूला आन्दोलन र त्यहाँ गरेका कयौं उदाहरण छन् । जुन कुरा प्रदेश र स्थानीय तहको नामाकरणमा पनि झल्कियो ।

अझै गर्व गर्न लायक अर्को कुरा हो नेपालका चाड पर्वहरू । चाड पर्वले केही समय भए पनि हामीलाई आनन्द दिलाउँछ । व्यस्त बन्दै गएको दैनिकीलाई केही समय भए पनि शान्त राख्छ । चाडपर्वमा गरिने भगवान्को प्रार्थना र पुजाले मनमा शान्ति मिल्छ । वर्षाभरिको पीडालाई कम गर्छ र छरिएर रहेका आफन्तको भेट गराउँछ । यी पर्व भनेकै समाजमा शान्ति, भाइचारा, आत्मियता कायम राख्न स्थापित भएका हुन् र यसको महत्व उच्च रहेको हो । दसैंमा मान्यजनबाट टिका थाप्ने र आशिर्वाद लिने, तिहारमा दिदी–भाइको भेट हुने, छठमा सुर्यको पुजा गरेर मन शान्ति पार्ने कुरामा हामीले कतै कञ्जुस्याई गरेका छैनौं । पर्वको तयारीमा महिना अघिबाट लाग्छौं र अघिल्लो पर्व भन्दा अहिलेको पर्वमा केही फरक वा नयाँ रूप दिने सोचाई हाम्रो बन्छ । यसले पर्व पनि परिमार्जित वा बढी खर्चिलो भएको हो कि भन्ने भावना सबैलाई भएको छ ।

हामी सामाजिक प्राणी भएकाले समाजमा भएका र गरेका कुरालाई पच्छ्याउँछौं । हेरक कुरामा प्रतिस्पर्धा छ । दसैंमा पल्लो घरकाले गरेको किनेको खसी भन्दा ठुलो किन्न खोज्छौं । लुगाफाटो, खानेकुरा र घर सजावटमा अन्य समय भन्दा चाडपर्वको बेला अझै ठूलो प्रतिस्पर्धा चल्छ । यो क्रम वर्षेनी बढ्दैछ, सहर हुँदै गाउँसम्म पुग्दैछ । हुनेखानेका लागि त यो कुरा सामान्य होला तर हुँदा खानेका लागि समाजका यस्ता कुरालाई पचाउन गाह्रो बन्दैछ । संस्कार, संस्कृति जोगाउन मुस्किल पर्दैछ । यस्ता कुराले खुसी भएर रमाउने चाडपर्वले दुःख भित्र्याएको तितो यथार्थ हामी माझ छ । पर्व मनाउने नाममा गरिने प्रतिस्पर्धाले सामान्य जीवन बिताउने नागरिकलाई सास्ती छ । समाजमा बस्नैपर्ने र समाजको कुरा पचाउनु पर्ने भएकाले ऋणको बोझ यसै समयमा बोक्नेको नागरिकको ग्राफ उकालो लाग्दै छ ।

नेपाल विकासको गतिमा भर्खरै पाइला चाल्दै गरेको मुलुक हो । यहाँ बसोबास गर्ने नागरिकको आम्दानी सबैको समान छैन । धेरै बेरोजगार छन् । राज्य नै वैदेशिक सहायतामा चल्दैछ । बजेट भित्रै ऋण घुसाएर विकासमा लगानी गर्नुपर्ने बाध्यतामा मुलुक छ । तर यसै मुलुक भित्र धनी र गरिब बिच ठूलो खाडल छ । खाडल पुर्न जुनै समयका सरकार पनि असफल नै छन् भन्दा फरक पर्दैन । कर्मचारीको पारिश्रमिक बर्सेनी नबढाए काममा चुस्तता सरकारले देख्दैन । तर नागरिकको आय बढेको हुँदैन । कर्मचारीको तलब बढे बजारमा भाउ बढ्छ । यातायातमा भाडा बढ्छ । उपभोत्ता सबै एकै हुन् । आय हेरेर बिक्री गर्ने÷हुने स्थान छैनन् । हुँदा खाने र हुने खाने दुबैको त्यही बजार भाउमा चल्नुपर्ने बाध्यता छ । यसले चाडवाडमा अझै समस्या थपेको छ । बजारमा हुने मौसमी अनुगमन औपचारिकतामा सीमित छन् । यसले उपभोक्तालाई फाइदा पु¥याएको छैन ।

नेपालमा दुईअढाइ लाख वर्षदेखिका सांस्कृितक पर्व र सम्पदा छन् । १०३ भन्दा बढी जातिका सांस्कृतिक प्रचलनहरू छन् । यसो हुनु भनेको राष्ट्रका लागि गौरवको विषय हो । यति विशाल सांस्कृतिक भण्डारको वैज्ञानिक अनुसन्धान, अध्ययन एवं संरक्षण कार्य समय, श्रोत र साधनका दृष्टिले समेत चुनौतीपूर्ण छ । संस्कार, संस्कृति र सम्पदाभित्रका समस्या र चुनौतीलाई सानु मुलुक भए पनि हामीले रोक्न सकेका छैनौं । कुनै पनि संस्कृतिका लागि विदेशी वा बाह्य संस्कृतिको प्रभाव अर्को चुनौती बन्ने गरेको छ । आजको विश्वव्यापी विद्यतुीय संचार माध्यमका कारण यस्ता प्रभावलाई न्यूनीकरण गर्नु, नियन्त्रण गर्नु र कुनै संस्कृतिको मौलिक स्वरूपलाई जोगाउनु अर्को चुनौती हो । यस विषयमा सरकार मात्रै होइन् सबै नागरिक सचेत बन्नुपर्छ ।

संस्कृित परिवर्तनशील विषय हो । विभिन्न जातिहरू र समूदायले अपनाइ आएका कतिपय सांस्कृतिक परम्पराहरू आधुनिक र मानववादी दृष्टिकोणबाट हेर्दा सुधार गरिनु पर्ने अवस्थामा पनि देखिन आएका छन् । यस्ता कुराहरूलाई सुधार गर्दा त्यस जाति वा समूदायको परम्परागत संस्कृतिको एउटा पक्ष लोप हुन पनि जान्छ । त्यसैले कुनै परम्परागत सांस्कृतिक प्रचलनको सुधारसम्बन्धी निर्णय पनि एउटा चुनौतीपूर्ण काम हो । वर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरूमा आफ्नो संस्कृतिको महत्व बोध गराउने र त्यसप्रति आस्था एवं निष्ठा जगाउने पाठ्यसामग्रीहरूलाई यथेष्ठ मात्रामा समावेश गर्न सकेको छैन । जसले गर्दा नयाँ पुस्ता नेपाली सांस्कृितक परम्पराप्रति उदासीन बन्दै गइरहेको स्थिति अर्को चुनौतिको रूपमा देखा परेको छ । यस्ता चुनौतिको समिक्षा समयमा नै गर्न आवश्यक छ ।

प्रतिक्रिया