आइतबार, भदौ ३०, २०८१

२९० पालिकामा कांग्रेसको वर्चस्व, एमाले र माओवादी पछिपछि

नेपालखोज २०७९ जेठ ६ गते १४:१२

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २९० पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म ३६ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १७९ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ३२ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १११ पालिका प्रमुखमा जित निकालेको छ भने १२ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने ५ पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २० प्रमुख पद जितेको छ भने १४ स्थानमा अगाडि छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । यस्तै लोसपा ७ स्थानमा जित हासिल गरेको छ भने ८ स्थानको पालिका प्रमुखमा अगाडि छ । अन्य दल तथा स्वतन्त्र उम्मेद्वार गरी २५ वटा प्रमुखमा विजयी हासिल गरेका छन् भने ८ प्रमुखमा अग्रता लिइरहेका छन् ।

यस्तै उपमेयरमा कांग्रेसले २६३, एमालेले २०१, माओवादी ११९, जनता समाजवादी २१ र लोकतान्त्रिक समाजवादी पार्टीले ७, एकीकृत समाजवादीले २१, अन्य दल तथा स्वतन्त्र उम्मेद्वारले १५ पालिकाको उपप्रमुखमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया