शुक्रबार, वैशाख ७, २०८१

विवश पोखरेलका ५ मुक्तक

विवश पोखरेल २०७९ जेठ ७ गते ७:४३

१ . शुभेच्छा
स्नेहको गुलाबी पत्रमाथि,
सौन्दर्यको शीत परोस्,
मेरो भागमा काँडैकाँडा,
तिम्रो भागमा प्रीत परोस्
अहा ! प्रेमको मीठो युद्धमा हार्नुको मजा बेग्लै छ,
भैगो म हारिदिउँला, तिम्रो पोल्टामा जित परोस् ।

२ . कहिलेकाहीँ
मायाले घोट्यो भने,
उपेक्षित पत्थर पनि हीरा हुन्छ
जसरी पुतलीको प्रारम्भिक रूप, झुसिलकीरा हुन्छ
कहिलेकाहीँ त आफ्ना भन्नेहरूले,
यति दुखाउँछन् मन त्यतिबेला आकाशजस्तो मुटु पनि,
टुक्रिएर चिराचिरा हुन्छ ।

३ . खोजी
सधैं आउने खुब सताउने,
यादको मूल कहाँ होला ?
तिमी बिम्बित सौन्दर्यको,
सुवासित फूल कहाँ होला
मौन किनारामा उभिएर,
चुपचाप चुपचाप सोचिरहेछु
तिमी समीप पुग्ने चाहनाको,
प्रिय पुल कहाँ होला ?

४ . खुसी
अतीत सङ्लो देखिँदैन,
स्मृतिको डाँडाबाट मैले बाँच्न सिकेको छु,
फूल हैन काँडाबाट आकाशकी जून तिमी,
आकाशैमा बाँचिराख तिमीलाई हेरी रमाकै छु,
नजिक हैन टाढाबाट !

५ . भारी
पिल्सिने गरी काँधमा, स्याल पनि बोकियो,
बाघ पनि बोकियो आफूभित्र विश्वासका असीमित, श्रद्धा र अनुराग पनि बोकियो ओहो !
जिन्दगीको यो रोमाञ्चक यात्रामा, के के पो
बोकिएन ?
मुजुर बोक्नुको भ्रममा, गिद्ध, रुप्पी र काग पनि बोकियो !
-विराटनगर

प्रतिक्रिया