शनिबार, जेठ ५, २०८१

व्याकुल मन

बिटु केसी २०७८ चैत १९ गते ८:४१

नसकी, नसकी
यो छाती दर्हो बनाउनु परेको छ
आँखामा आँसु सुकाउनु परेको छ
अफसोच !
यो हल्लिएको मुटुसँग
युद्ध देख्नुपरेको छ

चित्कार ,भाग दौड र त्रास
बम , गोली र बारुद
हेर्दाहेर्दै
जलेको खण्डहर देश

दूर क्षितिजको
युद्ध साक्षी म
स्तब्ध छु

कतै फागुका रङ्गहरुले
रंगिन छ धर्ती
कतै उजाडिएको छ आकाश
कतै रङ्गको
कतै रगतको होली !

हाँस्दा हाँस्दै अड्किएको हाँसो
निल्दा निल्दै अड्किएको गाँस
हिड्दा हिड्दै रोकिएका पाइला
युद्ध बिझाएका आँखा
चित्कारले टट्याएका कान
हेर्न आतुर छ
सुन्न व्याकुल छ
खबर शान्तिको !

प्रतिक्रिया