बुधबार, वैशाख १२, २०८१

हड्डीको लडाइँ

दीप मङ्ग्राती २०७९ जेठ ७ गते ८:५९

यो जित कस्को…?
हाम्रो हो…!
जनावर कस्को..?
हाम्रो हो…!
हरूवा पार्टी छेरुवा दाउ;
अब बुझ्लाऊ चोक्टाको भाउ;
बुढा भए तिम्राबाउ ,
कुम्लो बोकी कासी जाऊ,
जनावरहरु, उफ्री, उफ्री नारा लगाउँदै थिए, विजय जुलुसमा…!
सिंहको चक्चकी अति भएपछि, बाघ, चितुवा, स्याल, हुँडार, वनढाडेहरूको गठजोडले, सिंहको हुकुमत समाप्त पार्न राम्रै तयारी गरेका रहेछन् ।
चुनाव त , उनीहरुले जिते तर अब राजा को हुने भन्ने विषयमा उनीहरुको रडाको मच्चियो…
बाघ भन्छ, म तिमीहरुभन्दा हेर्नमा पनि सुन्दर, ठूलो, र बलियो छु, तेसैले राजा म हुनुपर्छ…!
चितुवा भन्छ, म रुख ,जमिन सबै ठाउँमा सिकार गर्न खप्पिस छु, तेसैले म राजा हुनुपर्छ।
हुकुमत चलाउनलाई ज्यान होइन, बुद्धि चाहिन्छ, तेसैले म राजा हुनुपर्छ। स्यालको दाबी…!
हेर सज्जनवृन्द, म सानो वनढाडे, सत्तामा दाबी त गर्दिनँ, अन्य भाग बन्डामा चाहिँ बराबरको हिस्सा चाहिन्छ ।
जत्रो पेट तेति नै खाने हो, लोभी बिरालो…!
हुँडारले दियो दनक बिरालोलाई…
एई …तिमीहरु, मान्छेजस्तै झगडा नगर त…! कसलाई के-को धन्दा, कसैलाई भागबन्डाको धन्दा… स्यालको प्रतिवाद…!

झगडा, गाली, गुट फुट जारी छ…!
सुनेउ, तिमीहरुले, आजबाट सिंहको राज खतम, पछारेछन् सबै मिलेर… मृग बुर्कुसी मार्दै समाचार सुनाउँदै थियो ।

भयो भयो, धेरै खुसी हुनु पर्दैन, सिंहले पनि हाम्रै काल, बनाउने हो, बाघ, चितुवाहरुले पनि हाम्रै काल बनाउने हो…, बँदेलले, चुइँकिन्दै, मृगलाई निरुत्साहित बनायो…! सबै उस्तै हुन्, हड्डीको लडाइँ हो,आज जुट्छन्, भोलि फुट्छन…!

प्रतिक्रिया