‘प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङ र हावा-हुरीसहित हल्का वर्षा’

नेपालखोज २०७९ जेठ ७ गते ६:२४

काठमाडौं । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका केही र अन्य प्रदेशका थोरै स्थानमा आज मेघ गर्जन/चट्याङ र हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ ।

यस्तै आज (शनिबार) राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकीमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावा-हुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यस्तो भोलि (आइतबार) दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया