एनटीसीका फोरजी ग्राहक करोड नाघे
काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या करोड नाघेको कम्पनीले जनाएको छ । २०७८ चैतको तथ्यांकअनुसार फोरजी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको तथ्यांक छ ।
समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकामा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात् २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ थियो ।
नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक २०७३ पुस १७ बाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ देखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । ‘फोरजी सेवा प्रयोग गर्न उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड सेवा पनि चल्ने हुनुर्पछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो मोबाइल फोनबाट *444# डायल गरी प्राप्त निर्देशनअनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा नियमितसमेत गर्न सकिन्छ ।’
प्रतिक्रिया