बिहीबार, वैशाख १३, २०८१

गर्भावस्थामा पौष्टिक खाना र हेरचाह

नेपालखोज २०७९ जेठ ८ गते १९:३९

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्त्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

सुत्केरी/स्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने ७ समूहका विभिन्न खाद्यवस्तुहरुः
१. अन्न वा जमिन मुनी फल्ने कन्दमूल
२. गेडागुडी, तेलहन, बियाँ
३. दूध तथा दूग्ध पदार्थ
४. मासु/माछा
५. अण्डा
६. भिटामिन ए पाइने फलफूल र तरकारी जस्तै ९ पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी,
७. अन्य फलफूल तथा तरकारी
यी माथिका मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्छ। सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सूक्ष्म पोषक तत्त्वको कमीबाट टाढा रहन सकिन्छ । गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साविक भन्दा १ पटक थप खाना खाएको सुनिश्चित गर्नुपर्छ ।

सुत्केरी महिलाहरुलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सख्खर), थप पोषिलो खाना खुवाएमा दुध उत्पादन गर्न मद्दत गर्दछ । यसको साथै सुत्केरी / स्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ। बालबालिका जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । भिटामिन ए धेरै मात्रामा पाइने खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनु पर्दछ ।

शाकाहारी वर्गको हकमा भने उनीहरुले गेडागुडी, टुसा उमारेको गेडागुडी, दूध तथा दूग्ध पदार्थ, भटमास, तेलहन (oil seeds and nuts) लगायतका खानेकुराहरुमा जोड दिनुपर्छ।
-युनिसेफ नेपाल

प्रतिक्रिया