वीरगन्ज महानगरपालिकामा गठबन्धनका उम्मेद्वार सिंहको अग्रता कायमै

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन् ।
गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित प्रतिस्पर्धामा छन् । हालसम्म ७७ हजार ५५७ मतगणना भएको छ ।
महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ । ३२ वटा वडा रहेको महानगरपालिकामा अन्य वडाको मतपरिमाण आउन बाँकी छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका हुन् । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया