शुक्रबार, वैशाख ७, २०८१

‘मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंकले धितो स्वीकार गर्न सक्ने’

नेपालखोज २०७९ जेठ १२ गते १६:४९

काठमाडौं । आयमूलकमा क्षेत्रमा ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा २० लाख रुपैयाँ कर्जा उपलब्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवं भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा बढीमा २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा स्वीकार गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

राष्ट्र बैंकले सोही परिपत्रमार्फत इजाजतपत्रप्राप्त संस्थाले एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवं उद्यम व्यवसाय (आयातसम्बन्धी व्यावसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको छ ।

२० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा दिनुपर्ने परिपत्रमा उल्लेख छ ।

यसैगरी विद्युत् आयोजना निर्माण गरी विद्युत् निर्यात गर्न सुरु गरेका परियोजनामा प्रवाहित कर्जालाई निर्यात सुरु गरेको पाँच वर्षसम्म र जलाशययुक्त जलविद्युत् आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधारदरमा एक प्रतिशत विन्दुसम्म मात्र थप गरी कर्जा प्रदान गर्नुपर्नेछ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरूलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएका आधार दरमा कर्जा उपलब्ध गराउनुपर्नेछ ।

महामारीजन्य रोगको उपचारका लागि नेपाल सरकारबाट मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक योजना मूल्यांकन गरी आधार दरमा कर्जा उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ । अस्पताल नभएका स्थानीयतहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा अधिकतम दुई प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछन् ।

आयमूलकमा क्षेत्रमा ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा २० लाख रुपैयाँ कर्जा

फलफूल एवं जडीबुटी उत्पादनका लागि वा पूर्णतः स्वदेशमा उत्पादित फलफूल एवं जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नुपर्नेछ । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने÷भएका कर्जामा लागु नहुने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया