गणतन्त्र दिवसमा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८३४ कैदीको सजाय मिनाहा भएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।
सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवासमेतका ५४७ गरी कुल जम्मा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गतेदेखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ । ‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया