शुक्रबार, वैशाख १४, २०८१

जहाज कति उडेपछि थोत्रो हुन्छ ?

नेपालखोज २०७९ माघ ३ गते १२:०३

काठमाडौं । कुनै पनि हवाई जहाज कति घण्टा उड्न सक्छ भन्ने सीमा निर्धारित हुन्छ । समय सीमा पूरा भएपछि त्यसलाई उडाइँदैन बरु त्यसको पूर्ण जाँचपछि मर्मत (ओभरहल) गरिन्छ । बिमानको इन्जिनको कुरा गर्दा बोइङको इन्जिनको समयसीमा ४५ सय देखि ५ हजार उडान घण्टा हुन्छ भने एयरबसको ३५ सयदेखि ४ हजार उडान घण्टासम्म हुन्छ । यसैगरी ट्वीनअटरको ल्याण्डिङ गियर १२ हजार घण्टा उडेपछि फेर्नुपर्छ।

बोइङको पाटपुर्जाको समय ३ सय उडान घण्टा हुन्छ भने एयरबसको सामानको १ सय २० उडान घण्टा हुन्छ । जहाजका हरेक पाटपुर्जाको यहीअनुसार समय निर्धारण हुन्छ। किनभने ती सबै पाटपुर्जाका आफ्नै आयु हुन्छन् । निश्चित समय उडेपछि ती पाटपुर्जाको पनि आयु सकिन्छ ।

त्यसपछि जहाजको इन्जिनको पनि ओभरहल गर्नुपर्छ । यसरी ओभरहल गरेर जहाजलाई नयाँ बनाइन्छ। इन्जिनमात्र नभएर जहाजका सबै पाटपुर्जाको ओभरहल हुन्छ। जहाजको ओभरहल भए नभएको निगरानी हरेक देशका नागरिक उड्डयन प्राधिकरणले गर्छन भने प्राधिकरणको कामको निगरानि एवं अनुगमन अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले गर्छ।

त्यसैले के भनिदै आइएको छ भने कुनैपनि वायुयान निर्माणका आधारमा पुराना हुँदैनन् । नेपाल लगायत संसारभर बिमानहरूको अवस्थाका बारेमा नियमित चेकजाँच भैरहेको हुन्छ। प्रत्येक वर्ष नियामक निकायले जहाजहरूको चेकजाँच गरेर एओसी नवीकरण गर्ने गरेका छन ।

यसक्रममा जहाजको प्रत्येक पार्ट्सको उमेर निश्चित गरिएको हुन्छ । इन्जिनको साइकल सकिएपछि पनि नयाँ फेर्नै पर्ने हुन्छ। जुन उत्पादक कम्पनीले नै तोकिदिएको हुन्छ । सबै पार्ट्सको एक्सपायर मिति हुने भएकाले पूरा जहाजको उमेर निर्धारण गर्नु जटिल काम भएको हवाई विज्ञहरू बताउँछन ।

प्रतिक्रिया